काठमाडौं- काठमाडौं महानगरपालिकाले जथाभावी डोजर आतंक मच्चाएको भन्दै महानगरबासी आन्दोलित भएका छन्। काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए। प्रदर्शनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमी पनि सहभागी भएका छन्।
सायमीले महानगरले सडक विस्तारका नाममा बिना अध्ययन, अनुसन्धान डोजर चलाएको आरोप लगाए। महानगरका मेयर बालेन शाहले जवाफदेहिता बिना काम गरेको सायमीको भनाई छ।
प्रदर्शनमा सहभागीहरूले डोजर आतङ्क बन्द गर्न, सडक विस्तारको नाममा उठिबास नगर्न, आदिवासीको भूमिको अधिकार सुनिश्चित गर्न माग गरेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation