९ कार्तिक २०८३, आइतबार

बागमती प्रदेश : ०७४ मा ४२ सिट जितेको एमाले १२ मा खुम्चियो, कांग्रेस पहिलो बन्यो

  • १२ मंसिर २०७९, सोमबार
Image

काठमाडौं- बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका प्रदेशसभा तर्फको ६६ निर्वाचन क्षेत्र मध्ये ६४ वटाको मतगणना सम्पन्न भइसकेको छ। प्रदेशका प्रत्यक्षतर्फको ६६ निर्वाचन क्षेत्रमध्ये दोलखाको २ क्षेत्रको मतगणना कार्य सुरु हुन सकेको छैन। अन्य जिल्लाको भने मत परिणाम नै सार्वजनिक भइसकेको छ।

हालसम्म सार्वजनिक भएको मत परिणाम अनुसार बागमती प्रदेशको प्रदेशसभामा नेपाली कांग्रेसले सबैभन्दा बढी सिट जितेको छ। कांग्रेसले २४ सिटमा हात पार्दा नेकपा माओवादी केन्द्रले १४ सिटसहित दोस्रो स्थानमा रहेको छ।

नेकपा एमालेले १२ सिटमा सीमित भएको छ भने राप्रपाले ७ सिट, नेकपा एकीकृत समाजवादीले ५ सिट, हाम्रो नेपाली पार्टी र नेमकिपाले १-१ सिट जितेको छ।

कांग्रेसले काठमाडौंको १ (क), १ (ख), ३ (क), ३ (ख), ४ (क), ५ (ख), ६ (क), १० (क) गरी ८ वटा क्षेत्रमा जितेको छ। त्यस्तै कांग्रेसले ललितपुर १ (ख), २ (ख), सिन्धुलीको १ (ख), २ (क), काभ्रेको १ (ख), २ (ख), सिन्धुपाल्चोकको १ (क), २ (ख), धादिङको १ (क), २ (क), मकवानपुरको २ (ख), नुवाकोटको १ (ख), २ (ख), चितवनको २ (ख), रसुवाको १ (क) र भक्तपुरको १ (क) मा जितेको छ।

माओवादी केन्द्रले सिन्धुलीको १ (क), २ (ख), रामेछापको १ (क), १ (ख), काभ्रेको १ (क), सिन्धुपाल्चोकको १ (ख), २ (क), धादिङको १ (ख), मकवानपुरको १ (क), २ (क), नुवाकोटको १ (क), २ (क), चितवनको ३ (ख) र रसुवाको १ (ख) जितेको छ भने एमालेले काठमाडौँ ४ (ख), ६ (ख), ७ (ख), ९ (ख), ललितपुरको १ (क), २ (क), ३ (क), ३ (ख), मकवानपुरको १ (ख), चितवनको १ (क) र २ (क) मा जितेको छ।

राप्रपाले काठमाडौँ २ (क), २ (ख), ५ (क), ८ (क), ९ (क), धादिङको २ (ख) र चितवनको ३ (क) मा जित्दा एकीकृत समाजवादीले काठमाडौँ ७ (क), १० (ख), काभ्रेको २ (क) र चितवनको १ (ख) मा जितेको छ।

नेमकिपाले भक्तपुर १ (ख)बाट आफ्नो विरासत जोगाउँदा हाम्रो नेपाली पार्टीले काठमाडौँ ८ (क)बाट प्रदेशसभामा इन्ट्रि गरेको छ।

खुम्चियो एमाले

गत २०७४ को निर्वाचनमा बागमती प्रदेशमा एमाले सबैभन्दा ठुलो दलको रूपमा रहेको थियो। उक्त निर्वाचनमा प्रत्यक्ष तर्फ नै ४२ सिटमा जित हात पारेको एमाले समानुपातिक सहित ५९ सांसदसहित स्पष्ट बहुमतमा रहेको थियो।

तत्कालीन समयमा बाम एकता गरेर चुनाव लडेको एमाले र माओवादी केन्द्रले प्रत्यक्ष तर्फ ४२ र १७ सिट जित्दा कांग्रेस ७ सिटमा सीमित बनेको थियो। सो निर्वाचनमा कांग्रेसले काठमाडौँको ४ वटा क्षेत्र, मकवानपुर, रसुवा र सिन्धुलीको एक क्षेत्रमा मात्र जित्न सकेको थियो।

यस पटको निर्वाचनमा भने एमाले खुम्चिएको छ। गत निर्वाचनमा एमालेले प्रत्यक्ष तर्फ १२ सिट मात्र जितेको छ। २०७४ मा बाम गठबन्धनमा रहेको अर्को दल माओवादी केन्द्रले २०७४ को निर्वाचनमा १५ स्थानमा जितेको थियो। यस निर्वाचनमा भने माओवादी केन्द्रले १४ वटा क्षेत्रमा जित निकालेको छ।

२०७४ मा प्रत्यक्ष तर्फ एक सिट पनि जित्न नसकेको राप्रपा यस पटक भने जबरजस्त रूपमा अघि आएको छ। राप्रपाले यस पटक प्रत्यक्षमा मात्र ७ वटा सिट जितेको छ।

एमाले विभाजन पछि बनेको एकीकृत समाजवादी पार्टीले बागमती प्रदेशको ५ वटा क्षेत्रमा जित निकालेको छ भने हाम्रो नेपाली पार्टी र नेमकिपाले १-१ क्षेत्र जित निकालेको थियो। २०७४ मा बागमती प्रदेशसभामा नयाँ शक्ति नेपाल पार्टी र नेमकिपाको एक सांसदले प्रत्यक्ष तर्फ निर्वाचन जितेका थिए।


प्रतिक्रिया

सम्बन्धित खवर