काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच इन्डोनेसियाको बालीमा भएको शिखर वार्तामा दुवै पक्षले द्वन्द्व टार्ने प्रतिवद्धता जनाएका छन्।
ताइवान र अन्य विषयमा महिनौंदेखि जारी तनावपछि जी–ट्वन्टी शिखर सम्मेलनका लागि इण्डोनिसायामा पुगेका दुई नेताबीच भेट भएको हो।
लामो समयदेखि प्रतिक्षा गरिएको दुई नेताको बैठक सुरु गर्नुअघि रिसोर्ट टापुमा सी र बाइडेनले अमेरिका र चिनियाँ झण्डामुनि उभिएर हात मिलाएका थिए। बेइजिङ र वासिङ्टनले विश्वलाई ‘हाम्रा मतभेदलाई व्यवस्थापन गर्न, प्रतिस्पर्धालाई द्वन्द्वमा परिणत हुनबाट रोक्न सक्छन्’भनेर देखाउन ‘जिम्मेवारी साझा’गरेको बाइडेनले बताए।
पछिल्ला केही दशकमा चीनका सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित चिनियाँ राष्ट्रपति सीले तेस्रो कार्यकालका लागि निर्बाचित भएपछि पहिलो प्रत्यक्ष भेटमा बाइडेनलाई विश्व ‘दोबाटोमा आइपुगेको’ बताए।
‘चीन र संयुक्त राज्य अमेरिकाले सम्बन्धलाई राम्रोसँग सम्हाल्नेछन् भन्ने विश्वले अपेक्षा गरेको छ,’चिनियाँ राष्ट्रपति सीले बताए। अमेरिकी अधिकारीहरूले बैठकअघि बाइडेनले चीनसँगको सम्बन्धमा ‘गार्डरेल’ स्थापना गर्ने र विश्वका दुई ठूला अर्थतन्त्रलाई द्वन्द्वमा धकेल्न सक्ने ‘रेड लाइन’ बाट कसरी बच्न सकिन्छ भन्नेबारे आकलन गर्ने आशा व्यक्त गरेका थिए।
चीन र अमेरिकाबीचको सबैभन्दा संवेदनशील विषय ताइवान हो, जुन चीनको तर स्वशासित क्षेत्र हो । संयुक्त राज्य अमेरिकाले ताइवानलाई समर्थन बढाइरहेको छ भने चीनले ताइवानलाई आफ्नो नियन्त्रणमा लिने धम्की दिइरहेको छ।
गत अगस्टमा अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले ताइपेइको भ्रमण गरेपछि चीनले अभूतपूर्व सैन्य अभ्यास गरेको थियो। सीसँगको वार्ताको पूर्वसन्ध्यामा बाइडेनले कम्बोडियामा दक्षिणपूर्वी एशियाली शिखर सम्मेलनका क्रममा जापानी प्रधानमन्त्री फुमियो किशिदा र दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलसँग भेटवार्ता गरेका थिए।
प्योङयाङले आफ्नो सातौं आणविक परीक्षण गर्ने डर बढेपछि बाइडेनले चीनलाई सहयोगी उत्तर कोरियामाथि लगाम लगाउन दबाब दिने अपेक्षा गरिएको छ।
प्रत्यक्ष पहिलो भेटघाट
कोभिड–१९ महामारी सुरु भएयता सीको यो दोस्रो विदेश भ्रमण हो। भ्रमणमा उनले विश्वका केही प्रमुख नेताहरूसँग भेटघाट गर्ने छन् । प्रधानमन्त्री एन्थोनी अल्बानीसले नेता सीसँग पहिलो पटक औपचारिक भेटवार्ता गर्ने घोषणा गरेका थिए।
यो सन् २०१७ पछि अस्ट्रेलियाका उच्च पदस्थ अधिकारी र चिनियाँ राष्ट्रपतिबीच हुन लागेको पहिलो भेट हो । सीले सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष भेटवार्ता गरेका थिए।
त्यतिबेला ट्रम्प र बाइडेन दुबैले चीनलाई एक प्रमुख अन्तर्राष्ट्रिय चासोको रूपमा पहिचान गरेका थिए र विश्व मञ्चमा अमेरिकी प्रभुत्वको लागि एक मात्र सम्भावित चुनौतीको रूपमा चिनाएका थिए।
राष्ट्रपतिका रूपमा सी र बाइडेनबीच पहिलो पटक भेट भएको भए तापनि यो जोडीको असामान्य रूपमा लामो इतिहास छ। बाइडेनको अनुसार उनले उपराष्ट्रपतिका रूपमा सन् २०११ मा चीनको नेतृत्वको पर्खाइमा रहेका नेता सीसँग व्यक्तिगत रूपमा ६७ घण्टा बिताएका थिए।
जसमा सन् २०१७ मा बाराक ओबामाको प्रशासनको अन्तिम दिनमा भएको बैठकलाई अझ राम्ररी बुझ्ने उद्देश्यले चीन भ्रमण पनि समावेश छ । ह्वाइट हाउसमा प्रवेश गरेयता बाइडेनले सीसँग लगभग पाँच पटक कुराकानी गरिसकेका छन् तर सोमबार उनीहरुबीच प्रत्यक्ष भेटवार्ताको साहित जुरेको हो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation