८ कार्तिक २०८३, शनिबार

काठमाडौंमा सात दिनदेखि थुप्रिएको फोहोर आजबाट उठ्ने

  • १२ साउन २०७९, बिहिबार
Image

काठमाडौं- काठमाडौं महानगरपालिकाले आजबाट फोहोर संकलन गर्ने भएको छ। एक हप्तादेखि नउठेको फोहोर आजबाट उठ्ने र पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने गाडीमा पुर्‍याउन महानगरले आग्रह गरेको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको हस्ताक्षरमा जारी गरिएको सूचनामा साउन ११ गते जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने सूचना प्राप्त भएको उल्लेख गरिएको छ।

‘१२ गते बिहीबार विहान ६ बजेदेखि तपाइँको पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्‍याउन अनुरोध गरिएको छ,’ सूचनामा भनिएको छ।

उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक बनाउन सवारी आवतजावतका कारण कठिनाइ भएको व्यहोरा उल्लेख गर्दै साउन ३ गते सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई पत्र पठाएको थियो।

विभागको पत्रका विषयमा महानगरका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा रहेको फोहोर व्यवस्थापन समितिको बैठक बसेको थियो।

छलफलपछि बैठकले स्यानिटरी ल्याण्डफिल साइट जाने सडकबाट फोहोर ढुवानी कार्य ७ दिनका लागि रोक्ने निर्णय गरेको थियो।

त्यस लगत्तै फोहोर उत्पादकका नाममा सूचना जारी गर्दै महानगरले ७ दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न अपिल गरेको थियो।

महानगरले घर, पसल, व्यवसायबाट उत्पादन भएको फोहोर सार्वजनिक चोक, गल्ली तथा सार्वजनिक स्थलमा ननिकाल्न र घरमै छुट्याएर राख्न अनुरोध दोहोर्‍याएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर