काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले सीमित स्रोत साधनबीच नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको काम प्रशंसनीय रहेको बताएका छन्।
आर्थिक वर्ष २०७७/०७८ मा बेरुजु फर्च्यौट कार्यमा सर्वोकृष्ट/उत्कृष्ठ हुने कर्मचारी र सोमबारदेखि अवकाशमा जान लागेका सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खलाललाई सम्मान गर्न आयोजित कार्यक्रममा गृहमन्त्री खाणले आगामी दिनमा पनि सुरक्षा निकायले यो भन्दा राम्रो काम गर्ने अपेक्षा आफूले राखेको बताए।
‘सीमित स्रोत र साधनलाई उपयोग गरेर अहिलेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको काम प्रशंसनीय छन्,’ गृहमन्त्री खाणले भने, ‘आगामी दिनमा यो भन्दा अझ राम्रो काम सुरक्षा निकायले गर्ने अपेक्षा सरकारको छ।’ सुरक्षा निकायलाई विस्तारै स्रोत र साधनयुक्त बनाउने योजना सरकारको रहेको उनको भनाइ थियो।
खाणले बेरुजु फर्च्योटमा सर्वोकृष्ठ/उत्कृष्ठ हुने संस्था तथा व्यक्तिहरूलाई नगद र प्रशंशा पत्रले सम्मान गरे। उनले तत्कालिन गृहसचिव महेश्वर न्यौपानेलाई १० हजार, प्रहरी महानिरीक्षक शैलेश थापालाई १० हजार, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई १० हजार, राष्ट्रिय किताव खाना (प्रहरी)का उपमहानिर्देशक शान्ता अधिकारी भट्टराईलाई १० हजार नगदसहित सम्मान गरे। त्यस्तै अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईलाई ५ हजार नगद र सम्मानपत्रले सम्मान गरे।

सो अवधिमा रमेशकुमार केसी र भट्टराई आधा/आधा समय महानिर्देशक भएकाले दुबै जनालाई ५/५ हजार नगदले सम्मान गरिएको थियो। गृहमन्त्री खाणले मन्त्रालयका तत्कालिन लेखा शाखाका उपसचिव निर्मल न्यौपाने, लेखा शाखाका शाखा अधिकृत शालिराम पराजुली र तत्कालिन लेखापाल नरबहादुर कुँवरलाई ८/८ हजार नगदसहित सम्मान गरे।
मन्त्रालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका तत्कालिन महानिर्देशक जितेन्द्र बस्नेतलाई १० हजार, गृह मन्त्रालयकी तत्कालिन सहसचिव हुमकला पाण्डेलाई पनि १० हजार नगदसहित सम्मान गर्ने कार्यक्रम रहे पनि उनीहरू अनुपस्थित रहे।
खाणले पुरस्कार वितरण गर्दै वेरुजु फर्च्यौटमा गृह मन्त्रालय अन्तर्गतका निकायले देखाएको कार्यकुशलता प्रशंशायोग्य रहेको भन्दै आगामी दिनमा यो भन्दा अझै राम्रो कार्य गरेर देखाउन आग्रह गरे।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation