८ कार्तिक २०८३, शनिबार

निर्वाचन सुरक्षाका लागि सीमावर्ती सुरक्षा बैठक बस्दै

  • १९ कार्तिक २०७९, शनिबार
Image

काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थालगायत विषयमा छलफल गर्न नेपाल र भारतका प्रशासन र सुरक्षा अधिकारीबीच शनिबार रुपन्देहीमा अन्तरसीमा समन्वय बैठक हुँदैछ। 

समन्वय बैठकमा लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख र यहाँका तीन जिल्लासित सीमा गाँसिएका भारतका सिद्धार्थनगर र महाराजगन्ज जिल्लाका डीएम र सुरक्षा प्रमुखको सहभागिता रहने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए।

‘मुख्य त निर्वाचनका बेला सीमा सिल गर्ने विषयमा छलफल हुन्छ,’प्रमुख जिल्ला अधिकारी पाण्डेले भने, ‘त्यसबाहेक चोरीपैठारी, आपराधिक गतिविधि नियन्त्रण, संयुक्त गस्ती र द्विपक्षीय सरोकारका विषयमा छलफल हुनेछ।’

प्रशासनका अनुसार शनिबार बिहान ११ बजेदेखि रुपन्देहीको छपियास्थित एक होटलमा बैठक तय भएको छ। उक्त बैठकमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा सरोकारवालाको सहभागीता रहनेछ।

बैठकमा पेस गरिने एजेन्डाबारे तयारी पूरा भएको छ। जिल्लामा निर्वाचन तयारी लगभग पूरा भइसकेको छ। तयारीकै क्रममा निर्वाचनलाई सुरक्षित र भयरहित तुल्याउन सीमा समन्वय बैठक आयोजना गरिएको पाण्डेले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर