काठमाडौं- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारहरुलाई कारबाही गर्ने तयारी थालेको छ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना उम्मेदवारहरुले निर्वाचन आचारसंहीता उल्लंघन गरेको पाइएकाले कारबाहीको प्रक्रिया अघि बढ्ने पक्का भएको जनाएको हो।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बुधबार धेरै ठाउँमा आचारसंहिता उल्लंघनका उजुरी परेको तर ३५ जना उम्मेदवारहरुले आचारसंहिता बढी नै उल्लंघन गरेको पाइएको भन्दै कारबाहीको तयारी गरेको बताए।
उनले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारहरुको कसुर प्रवृत्तिको गहन मूल्यांकन र विश्लेषण गर्दा कारबाहीको भागिदार बन्ने देखिएको बताए।
आयुक्त भण्डारीले आचारसंहिता धेरै उल्लंघन हुने समय कात्तिक १८ देखि मंसिर २ भएकाले आफूले बनाएका नीति नियमको पूर्ण पालना र कार्यान्वयन गर्न उम्मेदवारीहरुलाई आग्रह गरे। आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता अहिले पनि विभिन्न तरिकाबाट उल्लंघन भइरहेको भन्दै निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो कोही उम्मेदवारहरुलाई पनि आयोगले कारबाही गर्ने चेतावनी दिए।
उनले ऐन, कानुन बनाउनेहरुले नै आचारसंहिताको उल्लंघन गर्न नपाइने उल्लेख गर्दै अहिले पनि विभिन्न दलहरुले अगुवा कार्यकर्ता भेला, प्रशिक्षण लगायतका आचारसंहिताको उल्लंघन गरिरहेको बताए।
उनले हरेक उम्मेदवार र दलहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेको विषयलाई आयोगले प्रमाण संकलन गरी गहन अध्ययन गरिरहेको पनि उल्लेख गरे।
उनले भने, ‘राजनीतिक दलका र स्वतन्त्र उम्मेदवार जो उम्मेदवारी दिएर अगाडि जानुभएको छ। उहाँहरुको घरदैलो मात्रै गर्ने कार्यक्रम हो। कात्तिकको १७ गते सम्मको कार्यक्रम घरदैलो मात्रै हो। १८ गतेपछि गोष्ठी सेमिनार, र्याली, कोणसभा हो। त्यसको लागि हामीले १७ दिनको समय राखेका छौँ। अहिलेको अवस्था घरदैलो मात्रै गर्ने कार्यक्रम हो। त्यसमा २५ जनामा नबढाइ, बाजागाजा नबजाइ जानुस् भनेका छौँ। दलका नेताहरुले पनि मञ्जुर गर्नुभएको हो।'
© Lok Kalam . Designed and Developed by Goldenmud Creation