काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका छन्। आज बिहान ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा पुगेर उनले त्यहाँ उपचाररत शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गरेका हुन्।
उपराष्ट्रपतिले जोशीको स्वास्थ्य अवस्थाका बारेमा जानकारीसमेत लिनुभएको र उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी गराएको उपराष्ट्रपतिको सचिवालयले बताएको छ। जोशीको स्वास्थ्यमा आएको उल्लेख्य सुधारमा उपराष्ट्रपतिले खुसी व्यक्त गरेका छन्।
‘यहाँ राष्ट्रपिता हुनुहुन्छ । पिताको स्वास्थ्यमा आएको सुधारले म निकै खुसी भएको छु’, जोशीलाई राष्ट्रपिताका रुपमा सम्बोधन गर्दै उपराष्ट्रपतिले भनेका छन्, ‘यहाँ चाँडै डिस्चार्ज भएर घर फर्कनु हुने मलाई विश्वास छ।’ शताब्दी पुरुष जोशी डेङ्गु सङ्क्रमण र अन्य स्वास्थ्य समस्याले किष्ट मेडिकल अस्पतालमा उपचाररत रहेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation