काठमाडौं- टुकुचा खोलाको फोहोर पानी शुद्धीकरण गर्ने परियोजनाबाट अन्तर्राष्ट्रिय दातृ संस्था एसियाली विकास बैंक (एडीबी) बाहिरिने भएको छ।
एडीबीले एक पत्र पठाउँदै टुकुचा खोलाको फोहोर पानी शुद्धीकरण गर्ने परियोजनामा थप लगानी नगर्ने घोषणा गरेको हो। पछिल्लो समय काठमाडौं महानगरपालिकाले टुकुचा मिचेर बनाएको संरचना हटाउने अभियान सुरु गरेको थियो।तर, त्यहाँ बसिरहेकाहरूले लामो समयदेखि उक्त स्थानमा आफूहरूले घर तथा टहरा बनाएको र आफूसँग उक्त स्थानको लालपूर्जा भएकाले महानरले हटाउन नपाउने भन्दै विरोध जनाएका थिए।
केही स्थानीयले आफ्नो घर टहरा नभत्काउनका लागि अदालतसम्म पुगेका थिए। अदालतले पनि उक्त घर टहरा नभत्काउन अन्तरिम आदेश जारी गरिकसकेको छ।
यही विवाद जारी रहेकै बेला एडीबी लगानीबाट बाहिरिएको हो। ‘एडीबीको लगानीमा सञ्चालित बागमती नदी आधार सुधार आयोजनाअन्तर्गत टुकुचा खोलाको पानी शुद्धीकरण गर्न जडान गर्ने भनिएको प्लान्टको कामका लागि अब थप लगानीको योजना छैन,’ उक्त पत्रमा भनिएको छ, ‘उक्त प्लान्टमार्फत् फोहोर पानी शुद्ध बनाइ टुकुचाबाट दैनिक १ करोड ७३ लाख लिटर बागमतीमा खसाल्ने योजना थियो।’
© Lok Kalam . Designed and Developed by Goldenmud Creation