काठमाडौं- अबदेखि लोक सेवा आयोगले लिने प्रथम चरणको परीक्षामा प्राप्त गरेको अंकको ५० प्रतिशत मात्रै अन्तिम चरणमा जोडिने भएको छ।
लोक सेवा आयोगले आर्थिक वर्ष २०७९/०८० देखि हुने विज्ञापनमा लिखित परीक्षाको प्रथम चरण (प्रथम पत्र) मा उम्मेदवारले प्राप्त गरेको कुल अंकको ५० प्रतिशत अंकभार मात्रै अर्को चरणमा जोड्ने निर्णय गरेको हो।
१३ भदौ २०७९ मा बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो। शाखा अधिकृत, नायब सुब्बा र खरिदार वा सो सरहका पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाको प्रथम चरण प्राप्त गरेको नम्बरको ५० प्रतिशत अन्तिम चरणको योग्यताक्रममा गणना गरिने आयोगको प्रवक्ता तोयनारायण सुवेदीले जानकारी दिए।
सहसचिव वा सो सरह पदको द्वितीय चरणको सक्षमता परीक्षा अन्तर्गत मामिला प्रस्तुतीकरणको पूर्णाङ्क ५० को ठाउँमा ३० अंक कायम गरिएको प्रवक्ता सुवेदीले बताए। आयोगले लिखित परीक्षाको पाठ्यक्रम र अंकभारमा संशोधन तथा परिमार्जन गरेको हो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation