काठमाडौं- सरकारले बर्डफ्लु नियन्त्रणका लागि नष्ट गरिएका वस्तुको क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
यसअघि क्षतिपूर्ति दिने भनेर कुखुरा नष्ट गरेपछि सरकारले समयमै राहत प्रदान नगरेको भन्दै व्यवसायीहरू आन्दोलित भएका थिए। व्यवसायीको माग सम्बोधन गर्न संसद्मा पनि कुरा उठेको थियो।
उक्त विषयलाई सम्बोधन गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको हो। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय शुक्रबार सार्वजनिक गरिएको छ।
‘बर्डफ्लु रोग नियन्त्रणका क्रममा आ.व २०७८–०७९ मा प्रचलित कानुन बमोजिम नष्ट गरिएका वस्तुहरुको लागि राहत प्रदान गर्ने,’ मन्त्रिपरिषद्को निर्णय छ।
यस्तै, संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ पनि फिर्ता लिने निर्णय भएको छ। त्यस्तै, स्वास्थ्य सेवाका विभिन्न समूहका अधिकृतहरुलाई स्वास्थ्य सेवाका एघारौं तहमा बढुवा नियुक्ति गरी पदस्थापन गर्ने भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation