काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेताहरुलाई बोलाएर नागरिकतासम्बन्धी विधेयकबारे छलफल गरिन्। छलफलका क्रममा राष्ट्रपति भण्डारीले लोसपालाई नेकपा एमालेसँग चुनावी तालमेल संकेत गरिन्।
उनले नागरिकता विधेयक प्रमाणीकरण गर्ने संकेत गरेको पनि लोसपाकै एक नेताले बताए।
उनका अनुसार नागरिकता विधेयक प्रमाणीकरण गर्ने र लोसपाले नेकपा एमालेसँग चुनावी तालमेल गर्नुपर्ने आशय राष्ट्रपतिको थियो। तर, लोसपा भने सत्ता गठबन्धनसँग चुनावी तालमेलका लागि इच्छुक रहेको तर, एमालेसँगको तालमेलमा गर्न नसकिने स्पष्ट पारेको छ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा सहभागी गराउने आश्वासन दिएको भन्दै लोसपाका ‘पर्ख र हेर’को अवस्थामा छ। लोसपाका ती नेताले भने, ‘हामी प्रधानमन्त्रीसँग नजिक छौं। उहाँहरुको आन्तरिक सिट बाँडफाँट भइरहेकाले अहिले केही भनेका छैनौं। संवाद सकारात्मक नै छ।’
पाँच दलीय गठबन्धनभित्र मधेस प्रदेशमा सिट बाँडफाँटको सहमति हुन नसक्ने लोसपाको बुझाइ छ। गठबन्धनको कार्यदलमा भएको छलफलमा पनि मधेसको सिट बाँडफाँट सबैभन्दा जटिल देखिएको छ ।
मधेसको एउटै निर्वाचन क्षेत्रमा कांग्रेस, जसपा, माओवादी र एकीकृत समाजवादी गरी ४ दलको दाबी छ। मधेस प्रदेशमा गठबन्धनभित्र तालमेल हुन नसकेको अवस्थामा कांग्रेसले आफूसँग तालमेल गर्ने लोसपाको अपेक्षा छ ।
कांग्रेसका एक पदाधिकारीका अनुसार वर्तमान परिदृश्य हेर्दा मधेस प्रदेशमा पाँच दलबीच गठबन्धन हुने सम्भावना कम छ। लोसपालाई गठबन्धनमा सामेल गराउने विषयमा प्रधानमन्त्री देउवा प्रस्ट देखिन्छन्। उनले भने, ‘लोसपालाई गठबन्धनमा ल्याउने विषयमा उहाँ प्रस्ट देखिनुहुन्छ। तर कसरी मिलाउने भन्नेबारे केही भन्नु भएको छैन।’
राष्ट्रपतिले बोलाएपछि लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झालगायतका नेताहरु शितल निवास पुगेका हुन्। लोसपा स्रोतले भन्यो, ‘नागरिकता विधेयकका विषयमा सरकारले अघि बढाएको प्रक्रियाप्रति राष्ट्रपति असन्तुष्ट देखिनुभयो, तपाईंहरुले भेटेर कुरा गर्दा केही सहज हुन्छ कि भनेर सत्ता गठबन्धनका नेताहरुले हामीलाई भन्नुभयो।’
त्यसपछि प्रधानमन्त्री देउवासँगको सल्लाहमा लोसपाका नेताले राष्ट्रपतिसँग भेट गरेका हुन्। राष्ट्रपति भण्डारी र लोसपाका शीर्ष नेताबीच नागरिकता विधेयकका विषयमा छलफल भएको थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation