काठमाडौं- काठमाडौंको फोहोर व्यवस्थापनका अनेक उपाय सुझाउँदै काठमाडौंको मेयरको दौडबाट पहिलो बनेका मेयर बालेन्द्र शाह (बालेन)लाई अहिले आफैंले प्रतिबद्धता गरेको कुरा पूरा गर्न फलामको चिउरा बनेको छ। उनले लामो समयदेखि काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकेका छैनन्।
काठमाडौंको फोहोर बिर्सजनका लागि उनले बल प्रयोगसमेत गरेका छन्। काठमाडौं धुनिबेंसी नगरपालिका-१ मा सत्तारुढ र विपक्षी दलका अवरोधबीच आइतबार र सोमबार बन्चरेडाँडामा फोहोर विसर्जन गरिएको छ। प्रहरी परिचालन गरेर गाडीलाई सुरक्षा दिएर सोमबार २ सय ३ वटा गाडी र आइतबार ९० गाडीले फोहोर विसर्जन गरेको काठमाडौंको मेयर बालेन्द्र शाहले जानकारी दिएका छन्।
फोहोर व्यवस्थापनमा तत्काल देखिएका समस्या सतही मात्रै भएको उल्लेख गर्दै उनले भनेका छन्, 'केही दिन र केही समयबाट देखिरहेको समस्या सतही मात्रै हो। यसका गहिरा र अलग्गै कारणहरु छन्। नत्र सोच्नुहोस् त, राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नु पर्छ? २०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ? पूरै राज्य संरचना यस्तो निरीह किन बन्छ?'
सत्तारुढ दलका स्थानीय नेताहरूले नै आइतबार बन्चरेडाँडामा फोहोर फाल्न नदिने भन्दै विज्ञप्ति जारी गरेका थिए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताहरुले सोमबार बिहानैदेखि धुनिबेंसी–१ ढाडेमा फोहोर बोकेका गाडीलाई रोकेका थिए। त्यस्तै विपक्षी दलहरू एमाले र राप्रपाका स्थानीय नेताहरूले पनि सडक अवरुद्ध पार्न सघाएको बालेनको आरोप छ। सोमबार दिउँसो प्रहरी परिचालन गरी अवरोध हटाएर फोहोर विसर्जन गरिएको थियो।

त्यस्तै बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडीहरू गत सोमबार राति तोडफोड भएको थियो। धादिङ र नुवाकोटको सिमाना नजिकै पार्किङ गरेर राखिएको फोहोर बोकेका १४ वटा टिपर सोमबार राति तोडफोड भएको काठमाडौं महानगरपालिकाले जनाएको थियो।
दलहरुको विज्ञप्तिपछि आक्रोशित बनेका बालेनले काठमाडौंको फोहोर विसर्जनमा सत्तारुढ दलका स्थानीय नेताहरूको अगुवाइमा सडक अवरुद्ध गरिएको आरोप लगाए।
फोहोर व्यवस्थापनमा विगतमा भएका गल्ती नदोहोर्याउने भन्दै उनले भनेका छन्, 'यहाँ केही कमजोरी, केही गल्ती भएकै छ। सिसडोलमा गरिएको लापर्वाही र त्यो क्षेत्रको दूरावस्थाले गर्दा स्थानीयहरुले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वभाविक पनि होइन। तर हामी विश्वस्त पार्न चाहन्छौँ कि विगत दोहोर्याएर अपराध गर्ने छैनौँ। यसका लागि केही समय भने पक्कै लाग्छ। सिसडोलको वैज्ञानिक व्यवस्थापन र बन्चरेको दिगो उपयोगिताका लागि महानगर संवेदनशील छ। हामी आफूले गरेका सहमतिहरुको पालना गर्नेछौँ। सबै पक्षबाट हामी त्यही किसिमको संवेनशीलता र इमान्दारिताको अपेक्षा राख्दछौँ।'
त्यस्तै अहिलेको मुख्य काम पनि स्वार्थ नभई फोहोर व्यवस्थापन भएको उनले बताएका छन्। उनले अगाडि भनेका छन्, 'व्यवस्थापन हाम्रो स्वार्थहरुको गर्नु पर्ने होइन, फोहोरको हो। आफ्ना कुत्सित स्वार्थहरुको व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नु भएको छ भने त्यो भ्रम हो। त्यसो भन्दैमा कसैलाई हराउने खेलमा महानगर छैन। सबैले जित्ने कार्यक्रम लागू गर्ने योजनामा महानगर छ।'
© Lok Kalam . Designed and Developed by Goldenmud Creation