८ कार्तिक २०८३, शनिबार

आज चीन जाँदै परराष्ट्रमन्त्री खड्का, यस्ता छन् एजेण्डा

  • २४ साउन २०७९, मङ्गलबार
Image

काठमाडौं- परराष्ट्रमन्त्री डा. नारायण खड्का तीन दिने भ्रमणमा मंगलबार साँझ चीन प्रस्थान गर्दैछन्। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा खड्का उत्तरी छिमेकीको औपचारिक भ्रमणमा जान लागेका हुन्। २०७८ असारमा देउवा सरकार बनेपछि नेपालका तर्फबाट चीनमा हुन लागेको पहिलो उच्चस्तरीय भ्रमण हो। 

मन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच चीनको पूर्वमा पर्ने सान्दोङ प्रान्तस्थित तटीय सहर छिङदाओमा प्रतिनिधिमण्डल स्तरमा बुधबार द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। वाङले खड्का र नेपाली भ्रमण टोलीको सम्मानमा बुधबारै रात्रिभोज दिनेछन्। 

अमेरिकी सभामुख न्यान्सी पेलोसीको गत साता ताइवान भ्रमणपछि चीन र अमेरिकाबीच तनाव चुलिएको छ। चीनले आफ्नो अभिन्न अंग मानिआएको ताइवानमा अमेरिकाको हस्तक्षेप भएको भन्दै ताइवान वरपर सैन्य अभ्यास गरिसकेको छ। चीनले ताइवानमा अमेरिकाको राजनीतिक हस्तक्षेपविरुद्ध लड्न विभिन्न देशसँग समर्थन मागिरहेको छ। त्यसलाई विश्वका एक सय देशले समर्थन गरिसकेका छन्, जसमा नेपाल पनि छ। यहीबीच परराष्ट्रमन्त्री खड्काको चीन भ्रमण हुँदैछ। 

चीन भ्रमणमा परराष्ट्रमन्त्री खड्काले नेपालको एक चीन नीतिप्रति प्रतिबद्धता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ। ‘एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध छ। हामी चीनको सार्वभौमिकता र अखण्डताको सम्मान गर्छौं। चीनले पनि नेपालको अखण्डतालाई सम्मान गरिआएको छ। शान्ति चाहने मुलुक भएकाले कुनै पनि विवाद शान्तिपूर्ण माध्यमबाट हल होस् भन्ने नेपालको धारणा हो,’ मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्। 

परराष्ट्रमन्त्री खड्काको भ्रमणमा नेपाल र चीनबीचको सीमा समस्याबारे पनि छलफल हुने भएको छ। सन् १९६० को दशकमा भएको सीमा सन्धि र प्रोटोकल अनुसार संयुक्त सीमा अनुगमन अघि बढाउने सहमति नेपाल र चीनबीच भइसकेको छ। नेपाल र चीनबीच गत महिना आयोजित सहसचिवस्तरीय सीमा संयन्त्रको बैठकमा उक्त सहमति भएको थियो। 

त्यसैगरी सीमा नाका सहज बनाउने विषयमा पनि छलफल हुने भएको छ। चीनसँग जोडिएका उत्तरी नाका कोरोना महामारीसँगै ठप्पप्रायः रहे। एक महिनाअघि मात्रै रसुवागढी–केरुङ नाकालाई दुईतर्फ खोल्ने र हिल्सा–पुराङ नाका एकतर्फी खोल्ने सहमति भएको छ।  

मन्त्री खड्काको चीन भ्रमणमा चीनले अघि सारेको बेल्ट एन्ड रोड अवधारणाको फ्रेमवर्कभित्र रहेर कुनै पनि सम्झौता नहुने भएको छ। बीआरआईअन्तर्गत नेपालले सहुलियत ऋण वा अनुदान मात्रै चीनबाट लिने नीति रहेको मन्त्री खड्काले चिनियाँ समकक्षी वाङसमक्ष दोहोर्याउने भएका छन्। 

चीनले बीआरआई फ्रेमवर्कभित्र सहयोग अघि बढाउन चाहे पनि देउवा सरकारले सामान्य द्विपक्षीय सहयोगमा मात्रै सीमित हुन चाहेको हो। ‘बीआरआईभित्र कुनै पनि परियोजना सम्झौता वा समझदारी नगर्ने सरकारी नीति छ,’ ती अधिकारीले भने। 

चिनियाँ विदेशमन्त्री वाङको गत चैतमा भएको नेपाल भ्रमणमा चीनले बीआरआई कार्यान्वयन योजना सम्झौता पत्रमा हस्ताक्षर गर्न चाहेको थियो। तर परराष्ट्रमन्त्री खड्काले भ्रमणअघि नै त्यसलाई अस्वीकार गरिदिएका थिए। 

सन् २०१७ मा नेपालले बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेको थियो। त्यसयता नेपालमा बीआरआई अन्तर्गत एउटा पनि विकास परियोजना कार्यान्वयनमा आउन सकेको छैन। चीनसँग बीआरआईमा सहकार्य गर्नेसम्बन्धी छाता समझदारीमा हस्ताक्षर भएपछि नेपालमा चार वटा सरकार बने। तर, बीआरआई अन्तर्गतका परियोजना अघि बढाउन चीनसँग ठोस वार्ता आजसम्म हुन सकेको छैन।  

मन्त्री खड्काको १० सदस्यीय चीन भ्रमण टोलीमा परराष्ट्र, अर्थ, गृह, वाणिज्य र भौतिक योजना मन्त्रालयका कर्मचारी रहनेछन्। टोलीमा सरकारका तीन सचिव सहभागी हुनेछन्। परराष्ट्रसचिव भरतराज पौड्याल, वाणिज्यसचिव गणेश पाण्डे र भौतिक योजना मन्त्रालयका सचिव गोपाल सिग्देल रहनेछन्। 

गृह सचिव टेकनारायण पाण्डे पनि भ्रमण टोलीमा थिए। तर सोमबार पाण्डेलाई कोरोना संक्रमण देखिएपछि टोलीमा सामेल नहुने भएका छन्। परराष्ट्रमन्त्रीको टोली हिमालय एयरलाइन्सको चार्टर्ड विमानबाट चीन उड्ने भएको हो। भ्रमण सकेर मन्त्री खड्का बिहीबार स्वदेश फर्किने कार्यक्रम छ। 

प्रतिक्रिया

सम्बन्धित खवर