काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले यो वर्ष पनि पीसीएल नर्सिङको भर्ना रोकेको छ। अन्य विषयमा भर्ना खुले पनि नर्सिङका लागि आवेदन नखुल्दा अभिभावकका साथै एसईई नतिजापछि नर्सिङ अध्ययनको तयारीमा रहेका हजारौं विद्यार्थी अन्योलमा परेका छन्।
डिप्लोमा तहको सीटीईभीटीतर्फ सामान्य चिकित्सा, फार्मेसी, मेडिकल ल्याब टेक्नोलोजी, डेन्टल साइन्स, आयुर्वेद, डाइग्नोस्टिक रेडियोग्राफी, अफ्थाल्मिक साइन्स, अकुपञ्चर फिजियोथेरापी, योग एन्ड नेचुरोपेथीलगायत विषयमा भर्नाका लागि आवेदन खोलिएको छ।
गतवर्ष पनि सीटीईभीटीले नर्सिङको भर्ना महिनौंसम्म रोकेर राखेको थियो। त्यतिबेला ऐन संशोधन गरेर मापदण्ड बदल्ने चलखेलसमेत गरिएको थियो। सीटीईभीटीले ४५ कलेजमा भर्ना खुलाए पनि तीमध्ये १५ वटा शिक्षण संस्थाले स्नातक तहमा पनि नर्सिङ कार्यक्रम सञ्चालन गरेकाले चिकित्सा शिक्षा आयोगले रोक लगाएको थियो।
अन्तिम समयमा ३५ कलेजमा करिब १४ सय विद्यार्थीले पढ्ने मौका पाएका थिए। ऐनमा स्नातक र पीसीएल नर्सिङ एउटै शिक्षण संस्था वा कलेजले अध्यापन गराउन नपाउने व्यवस्था छ। स्रोतका अनुसार स्नातक र पीसीएल दुवै तहमा नर्सिङ पठनपाठन गर्ने कलेजहरू कानुनी रूपमा फरक शिक्षण संस्था सञ्चालन गर्न संस्था परिवर्तनको तयारीमा छन्। निजी कलेजहरूको आग्रहमा उपाध्यक्ष अधिकारी र सदस्य सचिव जीवनारायण काफ्लेले भर्ना नै रोकेर राखेका हुन्।
ऐनले कम्तीमा आफैं एक सय शय्याको अस्पताल चाहिने व्यवस्था गरेपछि ७५ भन्दा बढी कलेज बन्द अवस्थामा छन्। ऐन आउनुअघि सरकारी र निजी अस्पतालको सहकार्यमा यी शिक्षण संस्थाले नर्सिङको कक्षा सञ्चालन गर्दै आएका थिए। धेरै कलेज बन्द भएकाले निजी कलेज सञ्चालकले ऐन नै संशोधन गर्नुपर्ने माग अघि सारेका छन्।
नर्सिङ पढाउन आफ्नै एक सय शय्याको अस्पताल चाहिने मापदण्ड अव्यावहारिक रहेको स्वास्थ्य तथा प्राविधिक विज्ञान मञ्चका अध्यक्ष नेत्रराज चटौतले जानकारी दिए। २०७५ मा ऐन जारी हुँदा आफ्नै अस्पताल नभएका शिक्षण संस्थालाई २ वर्षभित्र सय शय्याको अस्पताल बनाउन समय दिइएको थियो। समय दिँदा पनि शिक्षण संस्थाले अस्पताल बनाएका छैनन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation