काठमाडौं- भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट दिएनन् । तीन दिने भ्रमणका क्रममा भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग आइतबार (आज) दिउँसो भेटेका दाहाल मोदीलाई नभेटी काठमाडौं फर्किन लागेका हुन्।
दाहालले आज बिहान मोदीसँग खानासहित वार्ता गर्ने तयारी भएको उनको सचिवालयले जनाएको थियो। तर मोदीले कार्यव्यस्तता जनाउँदै प्रचण्डसँग भेट्ने योजना रद्द गरिदिएको बताइएको छ। प्रचण्डको सचिवालयले आइतबारै बिहान मोदीसँग भेट हुने भने पनि भाजपा अध्यक्ष नड्डासँग पनि ढिलो गरी नयाँ दिल्लीमा वार्ता भएको थियो।
प्रचण्ड भारतीय नेताहरुमध्ये नड्डासँग यो भ्रमणको अन्तिम भेट गरेर काठमाडौं फिर्ने तयारीमा छन्। नड्डा र दाहालबीचको भेटका क्रममा भाजपा र माओवादी केन्द्रबीच एकअर्काबीच समन्वय गरेर दुवै छिमेकीले संयुक्त कार्यक्रम चलाउने सहमति जुटाएका थिए।
नड्डासँगको भेटपछि प्रचण्डले आफ्नो दिल्ली भ्रमण उत्साहजनक र एकदमै फलदायी भएको बताएका थिए। तर, मोदीसँग भेट्ने उनको योजना पूरा हुनै नपाई स्वदेश फर्किन लागेका हुन्।
भ्रमणको अवसरमा प्रचण्डले भारतीय विदेश सचिव, विदेश मन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार र भारतीय जनता पार्टीका अध्यक्षसँग भेटवार्ता गरेका छन् ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation