काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले आफूसहित पार्टीका ९ नेतामाथि गरेको कारबाही निर्णयको भर्त्सना गर्दै खारेज गरेका छन्।
शुक्रबार राति अबेर एक विज्ञप्ति जारी गर्दै डा. भट्टराईले नयाँ पार्टी पुनर्गठनमा जुट्न सबैलाई अपिल समेत गरेका छन्। ‘हामी यस कारबाहीको घोर भर्त्सना गर्दै कारबाहीको निणर्य खारेज गर्दछौं’ भट्टराईले भनेका छन्, ‘यो परिस्थितिमा अब हाम्रो सामु पार्टी पुनर्गठनको विकल्प रहेन।’
पार्टीभित्र लामो समयदेखि देखिएका वैचारिक, राजनीतिक, सांगठनिक र केन्द्रीय समिति अध्यक्षको स्वैच्छाचारी कार्यशैलीविरुद्धको बहस उत्कर्षमा पुग्दैगर्दा केन्द्रीय समितिको अलगअलग बैठक गर्नुपरेको उनको स्पष्टोक्ति छ।
‘सङ्घीय परिषद् अध्यक्षको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी रूपान्तरणका लागि अन्तिमसम्म प्रयत्न गरेको तथ्य सबैसामु छर्लङ्ग छ,’ उनले अपिलमा भनेका छन्।
भट्टराईले पार्टी अध्यक्ष यादवले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वैच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा सङ्घीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको आरोप लगाएका छन्।
उनले विज्ञप्तिमा भनेका छन्, ‘ पार्टी रूपान्तरणका लागि अनवरत रूपमा लागिरहनु भएका केन्द्रीय सदस्यहरूलगायत तहगत रूपमा सबै तहका नेताकार्यकर्ताहरूलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गर्दछौँ।’
© Lok Kalam . Designed and Developed by Goldenmud Creation