काठमाडौं- नेपाल प्रेस युनियनको नयाँ नेतृत्वका लागि संस्थापन पक्षबाट सरोज अधिकारी अध्यक्षको उम्मेदवार हुने भएका छन्। संस्थापन पक्षका पदाधिकारी सहितका शीर्ष नेतृत्वको बैठकले वर्तमान कार्यसमितिका कोषाध्यक्ष अधिकारीलाई उम्मेदवार बनाउने विषयमा कुरा अघि बढाएको छ।
मंगलबार र बुधबार दुई दिन अध्यक्ष बद्री सिग्देलसहित पूर्व अध्यक्ष समिरजंग शाह, सुरेश आचार्य, नवराज लम्सालसहितको टोलीले पदाधिकारी टुंग्याउने विषयमा छलफल गरेको हो।
रेडियो नेपाल, इमेज टेलिभजन, केही साप्ताहिकमा काम गरिसकेका अधिकारी व्यवसायिक र क्षमतावान पत्रकार भएकाले उनको नेतृत्वमा जाँदा चुनाव जित्न सहज हुने संस्थापन समूहको निष्कर्ष रहेको छ।
कोरोना महामारीमा पत्रकारहरुको सुरक्षाका कुरामा होस् वा पत्रकारहरुले महिनाभरी काम गरेर तलब नपाउँदा होस्, उनीहरुको पक्षमा वकालत गर्ने अधिकारी युनियनमा अध्यक्षमा बलिया उम्मेदवार पनि हुन्।
श्रमजीवी पत्रकारका पक्षमा खरो गरि उत्रँदै आएका अधिकारी प्रेस युनियनमा संगठकका रूपमा समेत चिनिन्छन्। अध्यक्षको तयारीमा रहेका अधिकारी देशका सबैजसो जिल्लामा संगठन निर्माणका क्रममा पुगेका छन्। केन्द्रीय सदस्य, कोषाध्यक्ष रहँदा एक दशक भन्दा बढि समयदेखि निरन्तर प्रेस युनियनमा सशक्त भूमिका निर्वाह गर्दै आएका अधिकारीको पक्षमा चुनाव नजिकिएसँगे बलियो माहोल देखिन्छ।
केही जिल्लाहरुमा त अधिकारीलाई अध्यक्ष बनाउने अभियान नै सञ्चालन गरिरहेका छन्। उनीहरुले कोरोना महामारीजस्तो समयमा मालिकले निकाल्दा उनीहरुको आवाज बोलिदिने र श्रमको मूल्य तिर्नुपर्ने दबाब सिर्जना गर्न सडक र सञ्चामाध्ययमै पुगेर हकहित दिलाउने अधिकारीलाई नै अध्यक्ष बनाउनुपर्ने बताइरहेका छन्।
अधिकारीसँगै महासचिवमा संस्थापनबाट केशव साउदको पक्षमा पनि सकारात्मक छलफल भएको बैठकमा सहभागी एक पदाधिकारीले बताएका छन्। ती पदाधिकारीले भने, 'हामीले मोटामोटी छलफल गरेका छौं। अध्यक्षमा सरोज र महासचिवमा केशव ल्याउँदा युनियनमा रुपान्तरण पनि हुने र अहिलेका युनियनकर्मीको भावनाको सम्मान पनि हुने कुराहरु उठेका छन्। छलफल जारी नै छ। यही तरिकाले सकारात्मक रुपमा कुराहरु अघि बढिरहेको छ।'
अनिता बिन्दुले कुनै सल्लाह नै नगरी युनियनको माहोल नै बिग्रिने गरी पोखरा पुगेर उम्मेदवारी घोषणा गरेकोप्रति पदाधिकारी रुष्ट बनेको छ। युनियनको महाधिवेशन यही साउन ६ र ७ गते युनियनको प्रधानमन्त्री शेरबहादुर देउवाले हेटौंडामा उद्घाटन गर्ने भएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation