८ कार्तिक २०८३, शनिबार

जननेता मदन भण्डारीको ७१औँ जन्म जयन्तीको अवशरमा फाउण्डेशनले आज सञ्चारकर्मीसँग अन्तर्क्रिया गर्दै

  • १२ असार २०७९, आइतबार
Image

काठमाडौँ - मदन भण्डारी फाउण्डेशनले जननेता मदन भण्डारीको ७१औँ जन्म जयन्तीका अवसरमा असार १० गतेदेखि साताव्यापी विविध कार्यक्रम सुरु गरेको छ । 

साताव्यापी अन्तर्गत मदन भण्डारी फाउण्डेशनले आज सञ्चारकर्मीसँग अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ ।  

मदन भण्डारीले प्रतिपादन गरेका सिद्धान्त र विचारहरूलाई जीवन्त राख्न र उनीप्रति श्रद्धा प्रकट गर्न स्थापना भएको  फाउण्डेशनले प्रत्येक वर्ष असार १४ गते जननेताको जयन्तीको मनाउँदै आइरहेको छ । 

फाउण्डेशनले गत बर्षझै असार १४ गते जननेता भण्डारीको ७१औँ जयन्ती अवसरमा  सप्ताहव्यापी रूपमा  असार  १० गतेदेखि १६ सम्म देशव्यापी रूपमा विविध गतिविधिसहित मनाउन लागेको हो ।  

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत असार १० गते पहिलो दिन मदन भण्डारी छलफल शृङ्खला, दोस्रो दिन मदन भण्डारीले जनताको बहुदलीय जनवादमा उठान गरेका विविध विषयमा कीतिपुरमा विज्ञहरूद्वारा प्राज्ञिक प्रस्तुति सम्पन्न गरेको छ ।

त्यसैगरी, फाउण्डेशनले असार १२ गते अर्थात् आज सञ्चारकर्मीसँग अन्तर्क्रिया, १३ गते नेपालमा सडक सुरक्षाबारे संवाद, १४ गते राष्ट्रिय सभागृहमा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा मूल समारोहको कार्यक्रम एवं मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण, १५ गते राष्ट्रिय गीत तथा ‘श्वेतशार्दुल’को पाँचौँ अङ्कको सार्वजनीकरण तथा असार १६ गते ज्येष्ठ कम्युनिष्टलाई सम्मानको कार्यक्रमको आयोजना गरेको थापना मदन भण्डारी फाउण्डेशनका सचिव पेम्बा लामाले जानकारी दिइन् ।  

त्यस्तै, फाउण्डेशनले सप्ताहव्यापी कार्यक्रम, मदन जयन्ती विशेष समारोह तथा मदन भण्डारी राष्ट्रिय पुरस्कारहरूका विषयमा थप जानकारी गराउन आज मदन भण्डारी कलेज, अनामनगरमा दिउँसो १२ः३० बजे पत्रकार सम्मेलनको समेत आयोजना गरिएको सचिव लामाले जानकारी दिइन् । 

सप्ताहव्यापी कार्यक्रमका माध्यमबाट जननेता मदन भण्डारीको विचार तथा व्यक्तित्वको चर्चाबाट आम नागरिक, सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रका नेतृत्व एवं नयाँ पुस्तालाई देशको सामाजिक, आर्थिक एवं राजनीतिक सुधार तथा रूपान्तरणका लागि सामाजिक सुधार, समाज कल्याण तथा वातावरण र संस्कृति संरक्षणका प्रेरित गर्न सहयोग पुग्ने विश्वास फाउण्डेशनले लिएको सचिव लामाले बताइन् । 

प्रतिक्रिया

सम्बन्धित खवर