८ कार्तिक २०८३, शनिबार

उद्योगी, व्यवसायीका समस्या हल गर्न सरकार गम्भीर छ : गृहमन्त्री खाण

  • १० असार २०७९, शुक्रबार
Image

सिद्धार्थनगर- गृहमन्त्री बालकृष्ण खाणले नेपालका उद्योगी र व्यवसायीका समस्या समाधानमा सरकार गम्भीर रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशको चौथो प्रदेशसभा अधिवेशनको आज भैरहवामा उद्घाटन गर्दै मन्त्री खाणले उद्योगी व्यवसायीका लागि आवश्यक सबै प्रकारका सेवा र सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

उनले मुलुकको पर्यटन उद्योगको विकास र विस्तारका लागि सरकारले चौबिसै घण्टा सेवा दिनेगरी काम अघि बढाइने पनि बताए। उनले भने, “पोखरा, काठमाडौँ, झापा, चितवन, भैरहवालगायतका पर्यटकीय सहरमा चौबिसै घण्टा होटल रेष्टुरेन्ट सञ्चालन हुने र आवश्यक सेवा दिनेगरी काम गर्ने वातावरण सरकारले मिलाउनेछ।”

उनले मुलुकको पश्चिम क्षेत्रको विकासका लागि सरकारले विशेष प्राथमिकता दिएको बताउँदै सिद्धबाबामा सुरुङ र दाउन्ने सडकको विस्तारको कामलाई सरकारले प्राथमिकता राखेको बताए। उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपालमा अन्तःशुल्कको प्रयोग गलत भएको बताउँदै कच्चापदार्थमा यस्तो शुल्क लिन नहुने धारणा राखे।

महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक सङ्घीयतामा जाँदा तीन तहका सरकारको सहयोग र समन्वयबाट मुलुकको विकास हुने अपेक्षा निजी क्षेत्रले गरेको तर निजी क्षेत्रले सोचेजस्तो तीन तहका सरकारबाट समन्वय हुन नसकेको बताए। उनले राज्यले उद्योगीले भोगिरहेका समस्याको समाधान गरी सबै व्यवसायीलाई ढुक्क भएर लगानी गर्ने वातावरण बनाउन आग्रह गरे। 


प्रतिक्रिया

सम्बन्धित खवर