८ कार्तिक २०८३, शनिबार

उद्योगमन्त्रीले भने- पेट्रोलियम हाम्रो उत्पादन होइन, बाहिरबाट ल्याएकै मूल्यमा बेच्न सक्दैनौं

  • ६ असार २०७९, सोमबार
Image

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्थामा सरकार रहेको बताएका छन्।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले सरकार बाध्यतामा परेर मूल्य बढाउनुपरेको बताएका हुन् । 

उनले पेट्रोलियम पदार्थ नेपालको उत्पादन नभएकाले बाहिरबाट महँगोमा खरिद गर्नुपरेको र सस्तोमा बेच्नसक्ने अवस्थामा सरकार नरहेको बताए। मन्त्री बडूले सरकारले बढेर आएको मूल्यमा कर घटाएर १० रुपैयाँ मूल्य कम गरेको बताए। उनले सरकारले विगतमा लगाएको कर कम गरेर उपभोक्तालाई अझ सस्तोमा तेल दिने प्रयास गरिरहेको पनि बताए।

‘पेट्रोलियम पदार्थ हाम्रो उत्पादन होइन। बाहिरको बजारमा जे रेट छ त्यसैमा किनेर ल्याउने हो। किनेर ल्याएका रेटमा बेच्न सक्दैनौं। त्यसमा कम गर्ने कुरा सरकारले लगाइको करलाई कम गरेर उपभोक्तालाई कम गर्ने हो। त्यसको लागि प्रयास गरिरहेका छौं। सरकारले पेट्रोलियम पदार्थमा लगाइरहेको करलाई पनि कम गरेका छौं। त्यो प्रतिलिटर पेट्रोल र डिजेलमा १० रुपैयाँ घटाएका छौं। त्यो भन्दा बढी घटाउने अवस्थामा सरकार पनि रहेन,’ उनले भने।

उनले असार २ गते आएको मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २०९ रुपैयाँ २८ पैसा पुगेको बताए।  सरकारले १० रुपैयाँ घटाएर १९९ रुपैयाँ कायम गरिएको उनको भनाई छ।

मन्त्री बडूले पेट्रोल र डिजेलमा मूल्य बढाए पनि ७५१ रुपैयाँ घाटा खाएर एलपी ग्यासको मूल्य नबढाएको बताए। उनले आयल निगमलाई अहिले प्रत्येक महिना ९ अर्ब ६३ करोड रुपैयाँ घाटा रहेको दाबी गरे। 


प्रतिक्रिया

सम्बन्धित खवर