चितवन- गृहमन्त्री बालकृष्ण खाणले सीमित स्रोत र साधनका बीच पनि सशस्त्र प्रहरीले उत्कृष्ट कार्य गरिरहेको बताएका छन्। चितवनको इच्छाकामना–४ स्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा आज गोताखोर तालिमको समापन कार्यक्रममा उनले सीमित स्रोत साधनबीच पनि छोटो समयमै सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालयले सयौँ मानिसको ज्यान बचाउन सफल भएको बताएका हुन्।
गृहमन्त्री खाणले भने, “यस विपद् तालिम शिक्षालयले छोटो समयमै सयौँ नागरिकको जीवन बचाउने काम गरिरहेको छ, तथापि साधन र स्रोतको सीमाका कारणले पूर्ण क्षमताको काम गर्न सकेको छैन ।” उनले आवश्यक स्रोत साधनका साथै प्रशिक्षकलाई थप सेवा–सुविधा उपलब्ध गराउनुपर्ने बताए।
उनले भने, “विपद् व्यवस्थापन शिक्षालयका लागि आवश्यक स्रोत साधन उपकरण, प्रशिक्षकलाई थप सेवा–सुविधा बढाउनुपर्ने देखिएको छ, त्यसका लागि मन्त्रालय र प्राधिकरणले आवश्यक कार्य गर्नुपर्छ ।” गृहमन्त्री खाणले स्थापनाकालदेखि नै सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीले प्राकृतिक विपद्मा नागरिकको जीवनरक्षा गर्नेजस्ता महत्वपूर्ण काम गर्दै आएकामा धन्यवाद दिए।
साथै उनले कुरिनटारस्थित त्रिशूली नदीमा गोताखोर तालिमको डेमो र यस शिक्षालयमा रहको ट्रमा सेन्टरको अवलोकन गरे। सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले विपद् व्यवस्थापन कार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले १० वर्षअघि स्थापना गरिएको यस शिक्षालयमा पेशागत तालिमका साथै विपद् व्यवस्थापनसम्बन्धी आधारभूत तालिम सञ्चालन गर्दै आइरहेको बताए।
यसै सिलसिलामा राष्ट्रिय विपद् प्राधिकरणको सहयोगमा विपद् व्यवस्थापन तालिम आयोजना गरिएको उनको भनाइ छ । नेपालमा नदी तालमा भइरहने विपद्मा उद्धारका लागि गोताखोर परिचालन अपरिहार्य रहेको महानिरीक्षक अर्यालको भनाइ छ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation