काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एस) बाट मन्त्रीका लागि सिफारिस भएका मन्त्रीहरुको सोमबार शपथ हुने भएको छ। समाजवादीबाट मन्त्रीमा सिफारिस भएका एक नेताले सोमबार अपराह्न शपथका लागि तयारी अवस्थामा बस्न खबर आएको जानकारी दिए। समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीको नाम सिफारिस गरिसकेको छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेताहरु विजय पौडेल र प्रमेश हमालले देउवालाई नामावली बुझाएका हुन्। पौडेलका अनुसार मेटमणि चौधरीलाई सहरी विकासमन्त्री, जीवनराम श्रेष्ठलाई पर्यटन, शेरबहादुर कुँवरलाई श्रममन्त्री बनाउने गरी सिफारिस भएको छ।
यस्तै स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई पठाइने भएको छ। यसअघि राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिनेगरी पार्टीले सिफारिस गरेको पौडेलले बताए।
यसअघि एकीकृत समाजवादीबाट प्रेम आले पर्यटनमन्त्री, किसन श्रेष्ठ श्रम तथा रामकुमारी झाँक्री सहरी विकासमन्त्री रहेकी थिइन् भने विरोध खतिवडा स्वास्थ्य मन्त्री थिए। उनीहरुलाई फिर्ता बोलाएर समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेको हो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation