४ वैशाख २०८१, मङ्गलबार

अमेरिकी मन्त्रीलाई किन तिब्बती गुम्बा जान दिएको ? खै एक चीन नीति ? : ओली

  • १२ जेठ २०७९, बिहिबार
Image

लोक कलम सम्वाददाता

काठमाडौँ, १ जेठ 

प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा नेतृत्वको सरकारले अमेरिकी उपविदेशमन्त्रीलाई तिब्बती शरणार्थी शिविरमा जान दिएर एक चीन नीतिविपरीत काम गरेको बताएका छन्। 

बिहीबार संसद बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले अमेरिकी विदेशमन्त्रीलाई तिब्बतीका गुम्बा भ्रमण गर्न दिएर छिमेकी चीनको न्यायोचित संवेदनशीलतामा प्रहार गरेको बताए।

उनले सरकारले मुलुकको छिमेक सम्बन्धमा समेत पक्षधरता लिएर परराष्ट्र नीतिमा गम्भीर खेलबाड गरेको आरोप लगाए। 

हालै नेपाल भ्रमणमा आएकी अमेरिकाको तिब्बत मामिला हेर्ने उपविदेशमन्त्री उज्रा जियाले काठमाडौंस्थित तिब्बती शरणार्थीका तीनवटा शिविर भ्रमण गरेको सार्वजनिक भएको थियो। 

चीनले पृथकतावादी भन्दै आएका दलाई लामालाई भारतको धर्मशालामा भेटेको भोलिपल्ट नेपाल आएकी जियाले अधिकांश समय यहाँका तिब्बती शरणार्थीसँगको भेटवार्तामा बिताएकी थिइन्। 

‘के अहिले नेपालको एक चीन छ छ? सत्तागठबन्धनलाई यसको हेक्का छ कि छैन? एकातिर एक चीन नीतिमा छौँ भन्ने अर्कोतिर विदेशी आएर गुम्बा, गुम्बा चाहर्ने? कुन विदेशीलाई कुन हदसम्म कहाँ जान दिने र नदिने भन्ने कुरा सरकारले ख्याल गर्ने कुरा होइन?’ ओलीले प्रश्न गरे। 

अध्यक्ष ओलीले देउवा सरकारलाई कृत्रिम पासा फ्याँकेर विदेशीले ल्याइदिएको सरकारको संज्ञा दिए। 

‘वास्तवमा यो सत्ता गठबन्धनको विदेश नीति उत्ताउलो र कमजोर छ। हाम्रो परराष्ट्र नीतिका असंलग्नता, न्यायोचित तटस्थता र निष्पक्षता जस्ता कुरामा यो गठबन्धनलाई मतलव छैन। यसलाई केवल कसरी आफ्नो सत्ता जोगाउने भन्नेमै ध्यान छ’ उनले भने। 

अध्यक्ष ओलीले सरकारको विदेश नीतिमाथि प्रश्न गरिरहँदा प्रधानमन्त्री देउवा र गृहमन्त्री खाँण बैठकमा थिए।

प्रतिक्रिया

सम्बन्धित खवर