सुर्खेत । कर्णाली प्रदेशमा पालिका अध्यक्षबाट राजीनामा दिएर वडा सदस्यमा लडेका दुई जनामध्ये एक जनाले मात्र चुनाव जितेका छन्।
स्थानीय तह निर्वाचन २०७९ मा दैलेखको भैरवी गाउँपालिका र सुर्खेतको बराहताल गाउँपालिकाका अध्यक्षले राजीनामा दिएर वडा सदस्यमा चुनाव लडेका थिए।
चुनाव जित्नेमा दैलेखको भैरवी गाउँपालिका वडा नम्बर ७ बाट प्रेमबहादुर बुढा रहेका छन्। उनी यसअघि गाउँपालिका अध्यक्ष थिए। २०७४ को निर्वाचनबाट अध्यक्ष जितेका बुढाले वैशाख ९ गते राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी दिएका थिए।
उनले ४४४ मत ल्याएर खुला सदस्यमा जितेका हुन्।
सुर्खेतको बराहताल गाउँपालिका-८ बाट वडा सदस्यमा चुनाव लडेका तेजबहादुर बस्नेत पराजित भएका छन्। उनी ५२ मतले वडा सदस्यमा पराजित भएका हुन्। उनले ५३९ मत ल्याएका छन् भने उनलाई पराजित गर्दै सदस्य जितेका नेकपा एमालेका प्रेमराज लिम्बुले ५९१ मत पाएका छन्।
बस्नेत २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।
बस्नेत अहिले नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचन क्षेत्र नम्बर २ (ख) को सभापति छन्।
पालिका अध्यक्षबाट राजीनामा दिएर वडा सदस्यमा लडेका दुबै जना जिल्ला समन्वय समितिको प्रमुख बन्ने दाउमा थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation