८ कार्तिक २०८३, शनिबार

को हुन् डोटीमा वडाध्यक्षका लागि चुनावी मैदानमा रहेकी एक्ली महिला उम्मेदवार ?

  • २० वैशाख २०७९, मङ्गलबार
Image

डोटी । रमा साउँद, २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट डोटीको शिखर नगरपालिका–५ को वडा सदस्यमा उम्मेदवार बनिन् । उनी ४१८ मत प्राप्त गरी विजयी पनि भइन् ।

सदस्य पदमा निर्वाचित भए पछि उनी नगर कार्यपालिकाको सदस्य समेत भइन् । पाँच वर्ष स्थानीय तहको अनुभव बटुलेकी रमालाई यसपाली वडाध्यक्ष बन्ने सुर चल्यो । उनले वडाध्यक्षको उम्मेदवार बन्ने भन्दै कांग्रेसको बैठकमा आफ्नो दाबी पेश गरिन् । पुरुष प्रधान समाजमा सुरुमा उनको दाबीलाई त्यति महत्व दिइएन । तर, अन्ततः वडाध्यक्षको उम्मेदवार भइ छाडिन् ।

डोटीमा ६५ वटा वडा छन् । ६५ वटा वडाको वडाध्यक्ष पदका लागि दाबी गरेका २३२ मध्ये १० जनाले उम्मेदवारी फिर्ता लिए । हाल २२२ जना चुनावी मैदानमा छन् । जहाँ रमा एक्ली महिला उम्मेदवार हुन् ।

टिकट पाउन पार्टीभित्र लडाइँ लड्नु परेको रमा बताउँछिन् । ‘पुरुषकै बोलबाला चल्ने समाजमा हामी महिलाहरुको आवाज कमै सुनिन्छ,’ रमा भन्छिन्, ‘टिकट पाउन त्यति सजिलो भएन, लडेरै लिएकी हुँ भन्दा हुन्छ ।’ करिब १२ वर्षको राजनीतिक यात्रा र पाँच वर्षसम्म वडा सदस्य भएर काम गरेको अनुभवले आफूलाई वडाध्यक्षको नेतृत्व गर्न सक्छु भन्ने लागेर उम्मेदवारी दाबी गरेको रमा बताउँछिन् । उनी आफू जित्ने कुरामा पनि ढुक्क छिन् । भन्छिन्, ‘महिलाहरु पनि नेतृत्व गर्न सक्छन् भन्ने विश्वास गरेर मलाई मत दिनु हुनेछ भन्ने आशा लिएकी छु ।’

रमाले यो अवसर त्यति सहजै पाएकी भने होइनन् । वडाध्यक्षका लागि दावेदार पुरुषहरुबीच सहमति कायम हुन नसक्दा उनको पोल्टामा पर्‍यो । ‘हामीहरुबीच छलफल भयो, एकले अर्कोलाई छोड्ने वातावरण बन्न सकेन,’ कांग्रेसबाट सो वडामा वडाध्यक्ष पदका एक दावेदार भन्छन्, ‘त्यसपछि एकजना मात्रै महिला दावेदार छन्, त्यसो भए उनैलाई छोडौं न त भन्ने भयो ।’ उनी भन्छन्, ‘रमालाई चिट्ठा परेको हो भन्ने सम्झिनुहोस् न ।’

अन्य कुनै पनि दलले महिलालाई वडाध्यक्षको उम्मेदवार बनाउन सकेका छैनन्, न त महिलाहरु आफैंले स्वतन्त्र उम्मेदवार हुने हिम्मत गर्न सके । राजनीतिक दलभित्र वडाध्यक्षका आकांक्षी महिला नभएका भने होइनन् । तर, दलहरुले पत्याएनन् । ‘मैले अन्तिमसम्म वडाध्यक्षको उम्मेदवार हुने प्रयत्न गरें, तर सकिनँ’ गत निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित एक महिला भन्छिन्, ‘जति गर्दा पनि पार्टीले उम्मेदवार बनाउन मानेन ।’ महिलाहरुलाई चुनाव जित्न गार्‍हो हुने भन्दै आफू बाहिरिएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘बरु तपाईंलाई प्रदेशसभाको समानुपातिकको सूचीमा राखौंला, अहिले जसरी पनि चुनाव जित्नु पर्नेछ, त्यसका लागि तपाईं प्रतिस्पर्धा गर्न सक्नु हुन्न् भनेर थन्काइयो ।’

आफूले वडाध्यक्षको दावी गर्दा पार्टीका नेताहरुले जित्ने आधार देखाउन भनेको गुनासो गर्छिन् एमालेबाट निर्वाचित एक वडा सदस्य । उनी भन्छिन्, ‘नेताहरुले चुनाव जित्नका लागि लड्ने हो, तपाईंको जित्ने आधार देखिंदैन, बरु अहिलेदेखि नै अर्को पल्टका लागि खट्नुहोस् भनेपछि मैले पछाडि हट्नु पर्‍यो ।’

वडाध्यक्षका आकांक्षी अन्य महिलाहरु स्वतन्त्र उम्मेदवार भएर चुनाव जित्न नसकिने भएकोले विद्रोह नगरेको वताउँछन् । ‘पार्टीहरुको बर्चश्व रहेका बेला स्वतन्त्र उम्मेदवार भएर जित्न मुस्किल छ,’ एक महिला नेतृ भन्छिन्, ‘एकातिर महिलाहरुसँग आर्थिक अभाव हुन्छ, अर्कोतिर पारिवारिक दबाव पनि हुन्छ ।’ अचेल चुनावमा पैसा खर्च गर्न सक्नेलाई उम्मेद्वार बनाउने चलन रहेको उनी बताउँछिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर