९ कार्तिक २०८३, आइतबार

चुनाव हारेपछि उपेन्द्रले भने- एमालेसँग सहकार्यको औचित्य सकियो

  • १८ मंसिर २०७९, आइतबार
Image

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको समीकरण तत्कालका लागि सकिएको घोषणा गरेका छन्।

एमालेसँगको तालमेल चुनावसम्म मात्रै रहेको बताउँदै उनले चुनाव सकिएसँगै एमालेसँगको समीकरण तत्कालका लागि सकिएको घोषणा गरेका हुन्।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले निर्वाचनमा एमालेले केही ठाउँमा जसपालाई र जसपाले केही ठाउँमा मात्र एमालेलाई सघाएको स्मरण गरे। ‘एमालेले केही ठाउँमा हामीलाई सघाएको थियो केही ठाउँमा हामीले सघाएका थियौँ भने त्यो गठबन्धन थिएन। चुनावी समीकरण मात्रै थियो । चुनाव सकिएसँगै सबै सकियो’, उनले भने ।

यादवले सरकारमा सहभागी हुने नहुने भन्ने बारेमा निर्णय नभएको बताएका छन्। अहिलेको प्रतिपक्षमा बस्ने जनमत आएकाले अहिले नै के गर्ने भन्ने निर्णयमा नपुगिएको उनले बताए।

संघीय सरकारमा मात्रै नभई सात वटै प्रदेश सरकारमा पनि के गर्ने भनेर निर्णय गरेर मात्रै अगाडि बढ्ने उनको भनाइ छ। अब बन्ने सरकारको नीति हेरेर सत्तामा बस्ने कि प्रतिपक्षमा बस्ने भन्ने निर्णय गर्ने उनको भनाइ थियो।

परिवर्तन गर्न चाहनेहरूलाई यो चुनावले पराजय गराएको समेत अध्यक्ष यादवले गुनासो गरे। चुनावी परिणामले लोकतान्त्रिक र क्रान्तिकारीहरूबीच सहकार्य र एकता गर्नुपर्ने अवस्था सिर्जना गरेको समेत उनले बताए।

४ मंसिरको चुनावमा यादव सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग फराकिलो मतान्तरले पराजित भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर