१५ चैत २०८०, बिहिबार

दाजुका अधुरा योजना पूरा गर्न वडाध्यक्षमा उम्मेदवारी

  • १८ वैशाख २०७९, आइतबार
Image

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सुर्खेतको भेरीगंगा नगरपालिका-१ की सम्झना कार्कीले वडा अध्यक्ष पदमा उम्मेदवारी दिएकी छन्। उनले नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएकी हुन्।

उनका दाजु नवराज कार्की २०७४ सालको स्थानीय तह निर्वाचन वडा नम्बर १ का वडाध्यक्ष निर्वाचित भएका थिए । निर्वाचित भएको ४ वर्ष ८ महिनामा २०७८ फागुन ८ गते सवारी दुर्घटनामा उनको मृत्यु भयो।

विपरीत दिशाबाट आएको गाडीसँग नवराज सवार मोटरसाइकल ठोक्किएको थियो। उनले वडाध्यक्षको कार्यभरमा रहँदा वडामा थुप्रै काम अघि बढाएका थिए। केही पूरा भए, केही पूरा हुने क्रममा थिए। आफ्नो कार्यकालमा पूरा नभएका र कार्यान्वयन नभएका योजना नगरपालिकाको प्रक्रियामा प्रवेश गराउने उनले बताएका थिए।

‘हाम्रो वडा (वडा नम्बर १) नगरपालिकाको विकट वडा हो। हाम्रो वडामा सडक, खानेपानी, विद्युत लगायतका पूर्वाधारका थुप्रै काम बाँकी छन्,’ सम्झनाले भनिन्, ‘दाजुले आफ्नो कार्यकालमा यी काम गर्ने सपना देख्नुभएको थियो, केही काम भए, केही हुँदै थिए। उहाँले आफ्नो कार्यकाल पूरा गर्नै पाउनु भएन।’

सम्झना आफ्ना दिवंगत दाजु नवराजको सपना पूरा गर्ने लक्ष्यका साथ वडाध्यक्षको लागि चुनावमा होमिएको बताउँछिन्। उनी २५ वर्ष उमेरकी छन्। नवराज पनि निर्वाचनमा प्रतिस्पर्धा गर्दा २५ वर्षकै थिए।

यसअघि सम्झना राजनीतिमा सक्रिय थिइनन् तर राजनीतिक परिवार भएकाले माओवादी पार्टीमा आस्था राख्थिन्। अहिले वडाध्यक्ष पदमा निर्वाचित हुँदाका चुनौती र अवसर पनि उनले केलाएकी छन्।

‘वडाअध्यक्षका काममा केही चुनौती छन् र थुप्रै अवसर पनि छन्,’ सम्झना भन्छिन्, ‘पहिलो त समवेशी सिद्धान्त अनुसार चुनावमा मेरो सहभागिता हो। दोस्रो दाजुले पूरा गर्न नपाएका केही योजना पूरा गर्नु हो। यससँगै जनप्रतिनिधिले गर्ने अरू काम छँदै छ।

यसपालिको चुनावी प्रतिस्पर्धासँगै सम्झना सक्रिय राजनीतिमा प्रवेश गरेकी छन्। अब उनी राजनीतिलाई निरन्तरता दिन चाहन्छिन्। भन्छिन्, ‘जिम्मेवारी पूरा गर्छु भनेरै उम्मेदवारी दिएकी हुँ। अब राजनीतिमा निरन्तरता दिन्छु।’

नेकपा माओवादी केन्द्र सत्तारूढ अन्य दलसँग चुनावी गठबन्धनमा भए पनि सुर्खेतमा अझै अनिश्चित छ। अन्तिमसम्ममा पनि गठबन्धनमा सहमति हुने उनको अपेक्षा छ। उनी भन्छिन्, ‘गठबन्धनमा भएको भद्र सहमति अनुसार नै मैले उम्मेदवारी दिएकी हुँ। पहिले पनि यो वडा माओवादीले नै जितेको हो।’

भेरीगंगा–१ मा एक हजजार ५१० जना मतदाता छन्। ‘कर्णाली प्रदेशमा जुम्ला, कालीकोट लगायतलाई विकट जिल्ला भने झैँ भेरीगंगामा हाम्रो वडा विकट मानिन्छ,’ सम्झना भन्छिन्, ‘अरू वडामा जस्तो यहाँ सडको पहुँच छैन। वडा कार्यालयमा बाहेक अन्यत्र बिजुली पुगेको छैन, खानेपानीको पनि दुख छ।’

उनका दाजु नवराज यी केही काम पूरा गर्न चाहन्थे तर कार्यकाल नसकिँदै अल्पायुमै दिवंगत भए।

सम्झना दाजुका अधुरा योजना पूरा गर्दै अब्बल जनप्रतिनिधि बन्न र राजनीतिमा अगाडि बढ्न चाहन्छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर