काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराका पूर्व सभापति कर्ण मल्लले सुदूरपश्चिम प्रदेश सभा सदस्यबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।
डडेल्धुरामा बिहीबार पत्रकार सम्मेलन गरी मल्लले प्रदेश सभा सदस्यबाट राजीनामा दिने घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘मलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएकाले कांग्रेस पार्टीका तर्फबाट प्रदेश सभा सदस्यमा रहिरहन नैतिकताले दिंदैन, त्यसैले आजैदेखि प्रदेश सभा सदस्य नरहेको घोषणा गर्दछु ।’
कांग्रेस डडेल्धुराका पूर्व सभापति समेत रहनुभएका मल्लले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्टीकरणको समेत मौका नदिई कारबाही गरेर आफूमाथि अन्याय गरेको बताउनुभयो ।
सभापति देउवाले दिएको पीडाका कारण आफ्ना साथीहरूले स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिएको उहाँको भनाई थियो । स्थानीय चुनावमा डडेल्धुरामा नेकपा (एमाले) सँग तालमेल गरेर उम्मेदवार उठेका छन् ।
कांग्रेसले दुई दिनअघि उहाँलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो । उहाँले पार्टी विधान विपरीत गतिविधि गरेको कांग्रेसको आरोप थियो ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation