काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो बस्दैछ। पार्टी मुख्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा महानगरका मेयरको टुंगो लगाइने बताइएको छ।
गठबन्धनबाट कांग्रेसको भागमा तीनवटा महानगर परेका छन्। आजको बैठकले काठमाडौं, ललितपुर र विराटनगरको मेयरको टुंगो लगाउने जनाइएको छ।
काठमाडौंबाट मेयरका लागि पाँच जनाको नाम सिफारिस भएको छ। नगर कार्यसमितिको बिहीबार बसेको बैठकले काठमाडौं महानगरपालिकाको प्रमुखका लागि नगर सभापति नीलकाजी शाक्य, वर्तमान उपप्रमुख हरिप्रभा खड्की, कांग्रेस नेता प्रकाशमान सिंहपत्नी सिर्जना सिंह, प्रगतिमान रञ्जित र सुसन वैद्यको नाम सिफारिस भएको छ।
त्यसैगरी ललितपुरको मेयरका लागि ललितपुर महानगर कार्यसमितिले सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, अहिलेका मेयर चिरीबाबु महर्जन, अहिलेको उपमेयर गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो।
त्यस्तै विराटनगरको मेयरका लागि केन्द्रीय सदस्य अमृत अर्याल, डा. डिला संग्रौला, भीम पराजुली, नागेश कोइराला, दिपक चापागाईँ, इन्दिरा कार्की, गोपाल रेग्मी, रामकृष्ण भट्टराई, फूलकुमार लालवानी र अरुण गुप्ताको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको छ।
आज बस्ने बैठकले तीनवटै महानगरका उम्मेदवारको विषयमा टुंगो लगाउने स्रोतले बताएको छ। स्रोतका अनुसार काठमाडौंमा सिर्जना सिंह, ललितपुरमा चिरिबाबु महर्जन र विराटनगरमा डा. डिला संग्रौलालाई मेयरको उम्मेदवार बनाइने भएको छ। पार्टीमा संस्थापन इतर समूहले भने भिम पराजुलीलाई नै दोहोर्याउन चाहेको छ। तर, प्रधानमन्त्री देउवाले नै संग्रौलालाई मेयरको उम्मेदवार बनाउने वचन दिइसकेको स्रोतको दाबी छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation