काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल मेयर रहेको भरतपुरमा फेरि उनले नै दोहोरिने इच्छा व्यक्त गरेकी छन्। माओवादीले पनि महानगरहरुमा आफ्नो पहिलो रोजाइमा भरतपुर रहेको बताएको छ। तर, कांग्रेसले भने २०७४ को चुनावमा गठबन्धनलाई छोडेकोले यसपटक छोड्न नसकिने जिल्लाका नेता कार्यकर्ताहरुले बताइरहेका छन्।
शनिबार विरोधस्वरुप केही कार्यकर्ताहरुले सदस्यबाट राजीनामा दिएको घोषणा पनि गरे। केन्द्रबाट गरिएको तालमेल निर्णयको प्रतिवाद जिल्ला-जिल्ला हुन थालेपछि नेपाली कांग्रेस स्थानीय भावनाअनुसार गठबन्धनमा जाने निष्कर्षमा पुगेको छ। २९ चैतमा गठबन्धनका तर्फबाट तयार भएको मोडालिटीमा सहकार्य गर्न नसकिने भन्दै विभिन्न जिल्लाका स्थानीय तहमा अवज्ञाका शृंखला सुरु भएपछि कांग्रेसले स्थानीय समितिकै भावनाअनुसार अघि बढ्ने निष्कर्ष निकालेको हो।
यस्तो अवस्थामा कांग्रेसले गठबन्धन हुन नसक्ने स्थानमा पाँच दलबीच नै मित्रवत् प्रतिस्पर्धामा नै जानुपर्ने रणनीति अवलम्बन गर्ने भएको छ। शनिबार सानेपामा बसेको कार्य सम्पादन समितिको बैठकले महानगरपालिका र उपमहानगरपालिकाबाहेकमा केन्द्रीय समितिको निर्णयअनुरुप स्थानीय भावनालाई प्राथामिकता दिनुपर्ने मत अधिकांश सदस्यहरूले राखेका हुन्।
त्यसैगरी भरतपुर जस्ता स्थानमा मित्रवत प्रतिस्पर्धामा जाने गरी निर्णय गरिने महामन्त्री विश्वप्रकाश शर्माले बताए। उनले भने, 'भरतपुरमा कांग्रेसले पनि छोड्ने अवस्था छैन। माओवादी केन्द्रले पनि नछोड्ने बताइरहेको छ। स्थानीय भावना र स्थानीय आवश्यकताले भन्छ भरतपुरको मेयर कांग्रेसले पाउनुपर्छ। तालमेल भए तालमेलबाट नभएर मित्रवत् प्रतिस्पर्धा जिन्दावाद।
स्थानीय भावनालाई नजरअन्दाज गरेमा पार्टीमा अन्तरघात बढ्ने र फेरि धक्का पुग्ने भएकाले स्थानीय सिफारिसलाई प्राथामिकता दिनुपर्ने कांग्रेस नेताहरुको जोड रहेको छ।
पार्टी सभापति देउवाले भने गठबन्धनका दलहरूबीच विश्वास कायम गरेर अघि बढ्नुपर्ने बताएका हुन्। उनले भने, 'यही गठबन्धनको सहयोगमा मैले सरकारको नेतृत्त्व गरेको हुँ । केन्द्रीय समितिले पनि गठबन्धनकै पक्षमा निर्णय गरेको हो । त्यसैले पाँच दलबीच अविश्वास पैदा हुने कुरा नगरौँ।'
आइतबार गठबन्धनका दलहरुबीच यस विषयमा छलफल हुने भएको छ। कांग्रेसले पर्सामा गरेजस्तै तालमेल हुन नसक्ने स्थानमा मित्रवत प्रतिस्पर्धाका आधारमा अघि बढ्ने भएका छन्। कांग्रेस र जसपाले शनिबार पर्साका १४ वटै स्थानीय तहमा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति गरेका हुन्। यही मोडालिटी भरतपुरसहित विवादित स्थानीय तहमा लागु गरिनुपर्ने रणनीति कांग्रेसको छ। कांग्रेस पनि गठबन्धन नभत्कियोस् भन्नतर्फ सजग छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation