किभ- युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसी तेलको खरिदलाई निरन्तरता दिएका युरोपेली देशहरूलाई 'अरू मानिसको रगतबाट पैसा कमाइरहेको' आरोप लगाएका छन्।
बीबीसीलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले जर्मनी र हङ्गेरीलाई तोकेरै उनीहरूले इन्धन बिक्रीमा प्रतिबन्ध लगाउने प्रयासलाई अवरुद्ध तुल्याइरहेको बताए। यो वर्ष रुसले तेल बेचेर ३२६ अर्ब अमेरिकी डलर कमाउने अनुमान गरिएको छ।
रुसविरुद्ध केही प्रतिबन्धहरूलाई समर्थन गरेपनि तेलको विक्रीमा कडा कदम चाल्ने प्रस्तावलाई समर्थन गर्ने मागप्रति कठोर धारणा राखिरहेको बर्लिनप्रति युक्रेन नेतृत्वको निराशा बढ्दै गएको पाइन्छ।
ताजा अवस्थाको निगरानी गर्ने कक्षमा बीबीसीसँग कुरा गर्दै जेलेन्स्कीले भने, 'कतिपय हाम्रा साथीहरू र साझेदारहरूले अहिले फरक समय भएको बुझेका छन्। यो पैसा र व्यापारको मात्रै विषय अब रहेन, यो जीवन रक्षाको विषय हो।'
रुसले युक्रेनमा किन थुप्रै ट्याङ्क गुमाइरहेको छ?
राष्ट्रपतिले युक्रेनलाई थप हतियारहरू उपलब्ध गराइनुपर्ने मागलाई दोहोर्याउने क्रममा रुसी आक्रमणलाई विफल पार्ने सामग्रीहरू प्राप्त नगरिरहेको बताए।
'संयुक्त राज्य अमेरिका, बेलायत, केही युरोपेली देशहरूले सहयोग गर्न खोजिरहेका छन् र सहयोग गरिरहेका छन्,' उनले भने, 'तर हामीलाई एकदमै चाँडो, द्रुत र तेज गतिमा सहयोग चाहिन्छ। त्यो नै अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो।'
रुसी फौजहरू हालैका दिनमा युक्रेन राजधानी किएभ र मध्य तथा उत्तरका विभिन्न ठाउँहरूबाट फिर्ता भएका छन्। बल प्रयोग गरेर सम्पूर्ण युक्रेनमाथि नियन्त्रण कायम गर्ने प्रयासबाट उनीहरू पछि हटेको जस्तो देखिन्छ।
तर युक्रेनको पूर्व र दक्षिणमा रक्तपातपूर्ण र लामो द्वन्द्वको जोखिम रहेको छ किनभने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यहाँ भूभाग कब्जा गर्ने प्रयासमा आफ्नो सैनिक अभियानको ध्यान केन्द्रित गरेका छन्।
हप्तौँदेखिको रुसी गोलाबारीका कारण पुटिनको रणनीतिक लक्ष्यका रूपमा हेर्ने गरिएको दक्षिणी बन्दरगाह शहर मारिऊपोल ध्वस्त भएको छ। राष्ट्रपति जेलेन्स्कीले उक्त शहरमा दशौँ हजार मानिस मारिएको हुनसक्ने बताए।
'हामीसँग भएको सूचना के हो भने दशौँ हजार मारिनु बाहेक धेरै जना बेपत्ता छन्,' उनले भने, 'हामीलाई थाहा छ उनीहरूको कागजपत्र बदलिएको छ। उनीहरूलाई रुसी राहदानी दिएर गोप्य रूपमा रुस लगिएको छ। कतिपयलाई शिविरहरूमा र कतिपयलाई अन्य सहरमा लगिएको छ। अहिलेसम्म कति जना मारिएका छन् कसैलाई पनि थाहा छैन।'
जेलेन्स्कीले रुसी फौजहरूले मारिऊपोल र किभको बाहिरी क्षेत्र बुचा र बोरोड्यान्कामा गरेका जघन्य अपराधहरूले रुससँगको शान्तिवार्ताको सम्भावनालाई थप साँघुरो बनाएको बताए।
एक हप्ताभन्दा केहीअघि युक्रेनी फौजहरूले नियन्त्रणमा लिएयता बुचामा सयौँको शव फेला परेको छ जसमा हात पछाडि बाँधेर टाउकोमा गोली हानिएका गैरसैनिक व्यक्तिका शव पनि रहेका छन्।
त्यहाँ व्यापक रूपमा यौन हिंसा भएको विवरणहरू आएका छन्। 'बुचाले (शान्तिवार्ताको सम्भावना) बन्द गर्ने प्रक्रियामा छ,' जेलेन्स्कीले भने, 'यो मेरो बारेमा होइन। यो रुसका बारेमा हो। हामीसँग धेरै कुराकानी गर्ने मौका उनीहरूसँग हुने छैन।'
उनले अघिल्लो साता बुचाको भ्रमण गर्दा आफूले 'हरेक किसिमका संवेदना महसुस' गरेको तर दिनको अन्त्य हुँदासम्म 'रुसी सैनिकविरुद्ध घृणा मात्रै' अनुभव गरेको बताए।
रुसी राष्ट्रपति पुटिन र रुसी सेनाको 'उपल्लोदेखि तल्लो निकाय'लाई उनले 'युद्ध अपराधी'को संज्ञा दिए। जेलेन्स्कीले रुसले फेब्रुअरीमा अतिक्रमण सुरु गरेयता आफ्नो नेतृत्वको सरकारले सक्दो गरेको भन्दै बचाउ पनि गरे।
उनले सरकारले हतियार र बन्दोबस्तीका सामग्रीहरूबारे सहमति जुटाउन पृष्ठभूमिमा काम गरिरहेको भन्दै देशका ब्याङ्कहरू टाट पल्टिएर अर्थतन्त्रलाई अस्थिर नबनोस् र त्रसित हुने अवस्था नआओस् भन्नका लागि केन्द्रित भएको बताए।
'उनीहरूले हामीलाई नष्ट पार्न सक्छन् तर हामी जवाफ दिन्छौँ। 'उनीहरूले हामीलाई मार्न सक्छन् तर उनीहरू पनि मर्छन्,' उनले भने, 'मलाई थाहा छैन यो केका लागि हो र उनीहरू किन आए।'
© Lok Kalam . Designed and Developed by Goldenmud Creation