काठमाडौं- आफूले मागेको जति सिट नपाए नेपाली कांग्रेस रोल्पाले एक्लै चुनाव लड्ने भएको छ।
एक महिने ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानका क्रममा प्राप्त सुझाव र उक्त सुझावमाथि भएको छलफलले आफूले मागे जति सिट नपाए एक्लै चुनाव लड्ने निर्णयमा रोल्पा कांग्रेस पुगेको हो।
कांग्रेस रोल्पा सभापति किशोरकुमार आचार्यले बुधबार विज्ञप्ति जारी गरी १० वटा पालिकाहरूमध्ये ५ वटामा प्रमुख, ५ वटामा उपप्रमुख, ३६ वटा वडाहरूमा अध्यक्षसहित १ जना सदस्य र ३६ वटा वडाहरूमा ३ जना सदस्यको उमेदवारी हुने गरी गठबन्धनमार्फत निर्वाचनमा भाग लिने गरी सर्त अघि सारेको जानकारी दिए।
यदि उक्त सर्त मान्य नहुने हो भने एकल ढंगले मित्रवत रुपमा सौहार्दतापूर्वक निर्वाचनको प्रतिस्पर्धामा भाग लिन तयारी गर्न पार्टी पंक्तिलाई निर्देशन दिइएको छ।
वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितका दलहरूबीच तालमेल गर्ने भनिएका बेला कांग्रेस रोल्पाले तालमेलका लागि सर्त अघि सारेको हो।
कांग्रेसका थुप्रै स्थानीय तहका समितिहरूले गठबन्धन गर्ने निर्णयको विरोध गरेका छन्।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation