८ कार्तिक २०८३, शनिबार

स्थानीय तहको संख्या टुंग्याउन गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै

  • २८ चैत २०७८, सोमबार
Image

काठमाडौं- आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्थानीय तहको संख्या टुंगो लगाउन गठबन्धनका शीर्ष नेताहरुको बैठक सोमबार बिहान बस्दैछ। 

उक्त बैठकमा गठबन्धनमा रहेका दलहरुले पाउने स्थानीय तहको संख्या भागबण्डा गरिने भएको छ। पौडेल नेतृत्वको समितिको बैठक सोमबार बिहान ९ बजे फेरि बस्ने भएको छ। त्यसपछि गठबन्धनका शीर्ष नेताको बैठक बस्ने छ। सोमबारै गठबन्धनका तर्फबाट चुनावी तालमेलको पक्षमा संयुक्त अपिल जारी गर्ने तयारी भएको छ।

बैठकमा कांग्रेस वरिष्ठ नेतासमेत रहेका गठबन्धनका संयोजक तथा निर्वाचन संयन्त्रका संयोजक रामचन्द्र पौडेलले स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्ने निर्णयलाई नै सामूहिक रुपमा अघि बढाउन सुझाव दिने भएका छन्। 

आइतबार बसेको निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठकले गठबन्धनबीच स्थानीय तहमा हुने सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्ने निचोड निकालेको छ।

देशमा कयौँ जिल्लामा सत्ता गठबन्धनलाई लिएर तीव्र असन्तुष्टि व्यक्त भइरहेका बेला पौडेल नेतृत्वको अनुगमन समितिले कांग्रेसले गरेको स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्ने निर्णयलाई नै सामूहिक रुपमा अघि बढाउने निष्कर्ष निकालेको हो। 

पौडेल नेतृत्वको अनुगमन समितिको बैठकले तलसम्म तालमेलको विषयमा सहमति गरेर रिपोर्ट पठाउने म्याद थप्ने निचोड निकालेको छ।

समितिले तल्लो तहबाट आएका रिपोर्टका आधारमा गठबन्धनलाई अघि बढाउने निष्कर्ष पनि निकालेको छ। समितिको बैठकले गठबन्धन गर्ने क्रममा संवैधानिक व्यवस्था अनुसार महिला उम्मेदवारको संख्या घट्न नदिने भएको छ।

तर निर्वाचन आयोगले स्थानीय निर्वाचनमा एउटा उम्मेदवारी दिँदा अर्को महिला चाहिने निर्णय कानुनभन्दा बाहिर गएर गरेको निष्कर्ष पनि बैठकमा निकालिएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर