९ कार्तिक २०८३, आइतबार

मतपत्र छपाई सुरु, २३ लहर समूहका ७७ प्रकारका मतपत्र छापिने

  • २२ चैत २०७८, मङ्गलबार
Image

काठमाडौं- स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाईको काम सुरु भएको छ। आगामी ३० वैशाखमा हुने निर्वाचनका लागि जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले मतपत्र छाप्ने काम थालेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तह निर्वाचनका लागि कूल एक करोड ९४ लाख थान मतपत्र छापिनेछन्। २३ लहर समूहका ७७ प्रकारका मतपत्र छापिन लागेको उनले जानकारी दिए।

जसमा सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ। सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंका हुने प्रवक्ता पौडेलले बताए। यसअघि आइतबार एक लाख ८० हजार थान नमुना मतपत्र छापेको थियो।

नमुना मतपत्र छाप्ने कार्य सफल भएसँगै जनक शिक्षाले थप मतपत्र छाप्ने काम तीव्रताका साथअघि बढाएको उनको भनाइ छ।

मतपत्र छाप्नको लागि आयोगले प्राथमिकता निर्धारण गरेको छ। सबैभन्दा पहिला दुर्गम क्षेत्रको मतपत्र छापिने प्रवक्ता पौडेलले बताए।

‘प्राथमिकता त तोकेका छैनौँ। तर, पहिला छाप्ने काम दुर्गमको हुन्छ।किनभने ढुवानीको हिसाबले दुर्गम जान धेरै दिन लाग्न सक्छ। पहिला दुर्गम स्थानको छाप्ने र पहिला पठाउने, अनि सुगम क्षेत्रको छाप्छौं,’ प्रवक्ता पौडेलले भने।

मतपत्र छाप्नको लागि सेक्युरिटी प्रेसमा काम गर्ने छुट्टै कर्मचारीलाई खटाइएको छ। नम्बरिङ, प्याकिङ र ब्याण्डिङको सम्पूर्ण काम कर्मचारीले गर्नेछन्। मतपत्र छपाईको सुरक्षा नेपाली सेनाले गर्दै आएको छ।

नेपाली सेनाको कमाण्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत सुरक्षार्थ खटिएका छन्। मतपत्र छपाईको कामसमेत व्यवस्थित गर्नका लागि मतपत्र छाप्ने स्थल वरवर सीसीक्यामेराको समेत व्यवस्था गरिएको छ।

मतपत्र छपाईको काम २० दिनभित्रमा सकिने जानकारी जनक शिक्षाले आयोगलाई दिएको छ। स्वीकृत अन्तिम मतदाता नामावलीबमोजिम एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन्।

कूल मतदाताको ८ देखि १५ प्रतिशतसम्म थप मतपत्र छापिने प्रवक्ता पौडेलले जानकारी दिए। 

प्रतिक्रिया

सम्बन्धित खवर