८ कार्तिक २०८३, शनिबार

गठबन्धनका मन्त्रीहरुका साथमा भाजपा मुख्यालय पुगेका थिए देउवा

  • १९ चैत २०७८, शनिबार
Image

काठमाडौं- तीन दिने भारत भ्रमणका रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार साँझ भारतीय जनता पार्टीको मुख्यालयमा अध्यक्ष जेपी नाड्डाले स्वागत गरे। प्रधानमन्त्रीको हैसियतमा एक पार्टीको मुख्यालय पुगेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता-कार्यकर्ताहरुले सामाजिक सञ्‍जालमा विरोध गरे। 

तर, देउवा प्रधानमन्त्रीमात्र नभए नेपालको सत्तारुढ दल नेपाली कांग्रेसको सभापति पनि हुन्। दुई मुलुकका सत्तारुढ पार्टीका प्रमुखहरुबीचको भेटलाई अस्वभाविक मान्‍न नहुने कूटनीतिज्ञहरुको तर्क रहेको छ। 

भाजपा मुख्यालयमा प्रधानमन्त्री देउवा एक्लै गएको भए आशंका गर्न सकिने भए पनि उनी नेपालको सत्तारुढ गठबन्धनमा रहेका पार्टीका मन्त्रीहरुलाई लिएर त्यहाँ पुगेका थिए।


जसमा नेपाली कांग्रेसबाट परराष्ट्रमन्त्री बनेका डा. नारायण खड्का, नेकपा माओवादीकी नेतृसमेत रहेकी उर्जामन्त्री पम्फा भूसाल, एकीकृत समाजवादीका नेता तथा स्वास्थ्यमन्त्री विरोध खतिवडा र जनता समाजवादीका नेता कृषिमन्त्री महिन्द्र राय यादव पनि प्रधानमन्त्रीसँगै भाजपा मुख्यालय पुगेका थिए। 

भारतीय विदेशमन्त्रीसँगको भेटका क्रममा पनि उनीहरु सँगै थिए। भारतीय विदेशमन्त्रीसँग प्रधानमन्त्री देउवाले नेपालले उठाएका मुद्दाहरुमा गम्भीर बन्‍न आग्रह गरेको बताइएको छ। 

प्रधानमन्त्री देउवाले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदी र उपराष्ट्रपति वैंकया नायडुसँग भेट गर्ने कार्यक्रम रहेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर