८ कार्तिक २०८३, शनिबार

प्रचण्डको आरोप- एमाले नेतृत्वले इमान्दार कार्यकर्तालाई बन्दी बनायो

  • २ वैशाख २०७९, शुक्रबार
Image

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  नेकपा एमालेभित्र सबै खराब छन् भन्ने सोच्न नहुने बताएका छन्। खुमलटारमा आज आयोजित माओवादी ध्रुवीकरण र एकता कार्यक्रमलाई सम्बोधन गर्दै  प्रचण्डले एमालेभित्र ८० प्रतिशतभन्दा बढी इमान्दार कम्युनिष्ट रहेको तर नेतृत्व भने प्रतिगमनकारी भएको आरोप लगाए ।

‘एमालेका सबै खराब छन् भन्ने सोच्नु हुन्न। हामीले तीन वर्ष त त्यहीँ बसेर हेरियो। ८० प्रतिशतभन्दा बढी इमान्दार कम्युनिष्ट छन्,’ उनले भने, ‘नेतृत्वले यति धेरै भ्रम दिएर बन्दी बनाएर राखेकोजस्तो लाग्छ।’ उनले एमालेभित्र रहेका इमान्दार कार्यकर्ताको पनि आफूहरूले नेतृत्व गरेर जानुपर्ने बताए।

माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्ट शक्तिबीच ध्रुवीकरणको आवश्यकता उनले औँल्याए।  क्रान्तिका लागि अघि बढ्ने परिवर्तन शक्ति बीच एकजुट हुन प्रचण्डले आग्रह समेत गरेका छन्। प्रतिक्रियावादी शक्तिले जनयुद्धकालमा समेत माओवादीलाई घेराबन्दी गर्ने, भ्रम छर्ने र सिध्याउने रणनीति लिएको उल्लेख गर्दै उनले अहिले पनि प्रतिक्रियावादी शक्तिहरु त्यही रणनीतिअन्तर्गत माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको बताए।

पार्टीमा अन्तरविरोध भए पनि पार्टी विभाजन गल्ती भएको उनको भनाइ थियो। अध्यक्ष प्रचण्डले अधुरो क्रान्ति पूरा गर्ने भन्दै विप्लव नेतृत्वको आन्दोलनमा सहादत प्राप्त गर्नेहरुलाई शहीदको घोषणा र जेलमा रहेका बन्दीको रिहाइका लागि आफूले पहल गर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर