८ कार्तिक २०८३, शनिबार

सुरक्षण मुद्रणमा आत्मनिर्भरताको उद्देश्य पूरा हुँदैछ : मन्त्री कार्की

  • १५ चैत २०७८, मङ्गलबार
Image

काभ्रे- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशलाई मुद्रणको क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्य पूरा हुँदै गरेको बताएका छन्। उनले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-५ स्थित सुरक्षण मुद्रण केन्द्र परिसरमा निर्माण हुने बहुउद्देश्यीय भवनको आज शिलान्यास गर्दै केन्द्रमा योजना अनुसारका भौतिक पूर्वाधार निर्माण तथा आवश्यक उपकरण जडानपछि मुद्रणको क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्य पूरा हुने बताएका हुन् ।

“स्वदेशमै सुरक्षण मुद्रण कार्य स्थापना भई कार्य प्रारम्भ गर्नु प्रशंसनीय विषय हो, यसबाट उत्पादन थालेपछि मुलुकलाई सुरक्षित मुद्रणको क्षेत्रमा आत्मनिर्भरताको उद्देश्य पूरा हुनेछ”,सरकारका प्रवक्तासमेत रहेका कार्कीले भने । उनले भौतिक निर्माण, सुरक्षित मुद्रण उत्पादन तथा भौतिक पूर्वाधार निर्माणको कार्य अघि बढाउन सहयोग, समन्वय र सहजीकरण गर्न मन्त्रालय र सुरक्षण मुद्रण विकास समितिका पदाधिकारीलाई निर्देशनसमेत दिए। 

मन्त्री कार्कीले सुरक्षण मुद्रण केन्द्रलाई सरकारले उच्च प्राथमिकता दिई नीति तथा कार्यक्रममा बजेट समावेश गर्दै आएको बताउँदै भौतिक पूर्वाधार तथा मानव-संसाधन विकास गरी प्रभावकारी तथा व्यवस्थितरूपमा सुरक्षण मुद्रणको कार्यलाई यथाशीघ्र कार्यान्वयन गर्न आग्रह गरे।

उनले भने, “हाल पासपोर्ट, बैंक-नोट, अन्तःशुल्क स्टिकरजस्ता सुरक्षण मुद्रण कार्यका लागि विदेशी संस्थामा निर्भर रहनुपर्ने अवस्था आएको छ, यहाँबाट सुरक्षण मुद्रणको कार्य सुरु भएपछि राष्ट्रिय महत्वका गोप्य सूचनाको डाटाबेस स्वदेशमै सुरक्षित भई विदेशमा भण्डारण गर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ र दुरुपयोगको सम्भावना हुने छैन।”

मन्त्री कार्कीले छापाखाना स्थापना भएपश्चात् राष्ट्रिय उत्पादकत्व वृद्धि भई रोजगारी सिर्जना तथा विदेशबाट आयात भइरहेको सुरक्षण मुद्रण सामग्रीको आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर