काठमाडौं- नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याउने हुँदै स्थगित भएको छ। काठमाडौं जिल्ला अदालतमा विचराधीन मुद्दा बुधबार अन्तिम नम्बरमा पेसी रहेको थियो।
न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पेसी थियो। ६ नम्बरमा पेसी परेको भएपनि हेर्न नभ्याउने भएपछि सुनुवाइ सरेको अदालतले जनाएको छ।
यसअघि चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो। तर, पेसी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए।
नाबालिकलाई बलात्कार गरेको अभियोगमा लामिछानेविरुद्ध २०७९ असोज १७ गते मुद्दा दायर भएको थियो। जिल्ला अदालत काठमाडौंले गत कात्तिक १९ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। जबरजस्ती करणी गरेको अभियोगमा उनी पूर्पक्षका लागि थुनामा गएका थिए।
पुस २९ मा उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले पाँच बुँदे शर्तसहित उनलाई रिहा गर्न आदेश दिएका थिए। सर्वोच्चले उच्चकै निर्णय पनि सदर गरेपछि उनी थुना बाहिर रहेर मुद्दा लडिरहेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation