पोखरा- नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिका बाहेक अन्य स्थानीय तहमा गठबन्धन नगर्ने भएको छ। कांग्रेस कार्यकर्ताहरूले नाराबाजीसहित पार्टी कार्यालयमा नेताहरूलाई थुनेपछि गठबन्धन तोड्ने निर्णय गरिएको हो।
वडा-वडाबाट आएका नेता कार्यकर्ताहरूले गठबन्धन गर्न नहुने दबाबसहित आन्दोलन गरेपछि जिल्ला नेतृत्व दबाबमा परेको थियो। आन्दोलनमा उत्रिएका कांग्रेस नेता कार्यकर्ताहरूले कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बैठक स्थलमै थुनिदिएका थिए।
उक्त दबाबपछि पोखरा महानगरको मेयर र उपमेयर बाहेक सबै पदमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको सचिव भानु ढकालले बताए । यसअघि कास्कीका ४ गाउँपालिकाको अध्यक्ष कांग्रेसले र उपाध्यक्ष माओवादीले लिएर गठबन्धन गर्ने निर्णय भए पनि मनोनयन गर्न समय २४ घण्टा भन्दा कम बाँकी रहँदा तोडिएको हो।
अब कुनै पनि वडा र पालिकामा गठबन्धन नहुने कांग्रेसले जनाएको छ। सबैले आफ्नै उम्मेद्वार उठाउन तयारी गरेका छन्। गठबन्धन दलहरूले सोमबार मात्रै मनोनयन दर्ता गर्ने निर्णय यसअघि नै गरिसकेका छन्।
कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले विज्ञप्ति निकालेर स्वस्थ प्रतिष्पर्धा गर्ने र गठबन्धन बाहेक दलहरूसँग तालमेल नगर्ने निर्णय भएको जानकारी दिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation