काठमाडौं - सपना राजभन्डारीको परिवार नेपाली कांग्रेस समर्थित थियो। परिवारका सदस्यले कांग्रेसमा भोट दिने भएकाले उनी पनि कांग्रेसलाई नै मन पराउथिन्। २०४८ तिरको कुरा हो, उनी त्रिभुनव विश्व विद्यालयमा पढ्दै थिइन् त्यही बेला स्थानीय निकायको चुनाव भयो। त्यो बेला कांग्रेसबाट काठमाडौं नगरपालिकाको उपमेयरमा नविन्द्रराज जोशी चुनाव लडेका थिए।
त्यो बेलासम्म सपना र नविन्द्रराजबीच चिनजान थिएन। तर सपना आफ्ना साथीहरूका साथमा चुनावी प्रचारमा होमिइन्। नविन्द्रले चुनाव जिते। जितेको खुसियालीमा विजय जुलुस निकालियो। त्यही जुलुसमा सपना र नविन्द्रको पहिलोपटक भेट भयो। उनले नविन्द्रलाई विस्तारै बुझ्न थालिन्।
नविन्द्रको बानी ब्यहोरा, सोच र काम गर्ने तरिका सपनालाई मन पर्न थाल्यो। त्यसपछि दुवैले एक अर्कालाई मन पराउन थाले। जिन्दगीको यात्रासँगै तय गर्ने निर्णयमा पनि पुगे। एकअर्का बीचको प्रेम झाँग्गिदै गयो। प्रेमलाई विवाहमा परिणत गर्न भने करिब डेढ दशक नै कुर्नुपर्यो। सपनाका अनुसार केही पारिवारीक कारणले गर्दा प्रेमलाई विवाहमा परिणत गर्न लामै समय कुर्नुपर्यो। जति समय प्रेमलाई विवाहमा परिणत गर्न लाग्यो करिब त्यति तै समय मात्रै उनीहरू साथमा रहे।
जिवनभर सँगै बाच्ने र सँगै मर्ने कमस खाएको यो जोडीलाई दैवले चाँडै अलग बनाइदियो। सपनाको साथ मात्रै हैन नविन्द्रराज संसारै छोडेर गएको पनि आज ठिक एक वर्ष बितेको छ।
'सायद यति चाँडै हामीलाई छोडेर जाने भएकाले होला, आमाछोरीलाई अत्यधिक माया गर्नुभयो', रसाएका आँखा हातले छाम्दै भनिन्,'हामी श्रीमान श्रीमती छोरीभन्दा पनि असल साथि जस्तै भएर बसेका थियौँ, पापी दैवले चाँडै साथ चुँडाएर लगिदियो।'
.jpg)
ननिन्द्रलाई भेटेको दिनदेखि छोडेर गएको दिनसम्म के घरमा के घर बाहिर कोही कसैलाई रिसाएको तथा कसैको चित्त दुखाएको सम्झना सपनालाई छनै। भन्छिन्,' त्यति मायालु स्वभाव भएको मान्छे सायदै होलान्। अर्को कुरा स्वाभिमानी र इमान्दारीतामा पनि उहाँ नमुना नै हो।' परिवारमा मात्रै हैन नविन्द्रराजको अभाव राजनीतिमा पनि निकै खड्किएको छ।
सपनाका अनुसार जोशी पार्टीमा गुठको राजनीति मौलाएकोमा निकै दुखित थिए। गुठ उपगुठको राजनीतिले पार्टीमा क्षति पुगेकोमा जहिले चिन्ता व्यक्त गर्थ्ये। घरमा होस या पार्टीमा उनी सबैलाई समान रुपमा हेर्थ्ये। पार्टीमा गुठ उपगुठको कारणले कसैलाई नजिक टाढाको व्यवहार गर्ने बानी पनि उनमा नभएको सपनाले सुनाइन्।
केही नयाँ काम गरौं भन्ने सोच उनीमा थियो। पूजाआजा र धर्मकर्ममा निकै विश्वास गर्ने जोशी देश र जनताका लागि केही नयाँ काम गर्ने चिन्ता सधैं लिने गर्थ्ये। स्वदेशमा रोजगारीको अभावले युवाहरू विदेश जानुपर्ने कुरामा जोशी निकै चिन्तित बन्ने गरेको सपनाले सुनाइन्।
आफू उद्योग मन्त्री हुँदा केही सरकारी उद्योगलाई संचालन गर्ने काम थालेका थिए जोशीले। युवाहरुलाई स्वदेशमै रोजगारी दिनुपर्ने सोच उनमा थियो। नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री, काठमाडौंका पूर्वउपप्रमुख, संविधानसभा सदस्य जोशीले नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय अनवरत सङ्घर्ष गरेका थिए।
'राजनीतिमा इमान्दारिता, बिचारमा प्रस्टता' उनको नारा नै थियो। कोभिडको बेला निर्वाचन क्षेत्रमा प्रत्येकको घरघरमा पुगेर जनचेतना फैलाउने र स्वास्थ्य सामग्री बाँड्ने काम गरेका जोशीलाई उनको क्षेत्रका मतदाता परिवारको जदस्यकै जस्तो ब्यवहार गर्ने गरेको सपनाले सुनाइन्।
बुबाबाट राजनीति सिकेका जोशीले गणेशमान र किसुनजीसँग लामो साथ गरे। समाजसेवामा निकै सक्रिए जोशीलाई सम्झिइरहन उनकै नाममा स्मृति प्रतिष्ठान खोलेर काम गर्ने योजना सपनाको छ।
मनाउन नपाएको त्यो वर्षगाँठ
सपना र नविन्द्रराजको विवाह भएको दिन फागुन १९ गते हो। गत वर्षको फागुन १९ गते नविन्द्रराजले विवाह वर्षगाँठ लाई निकै भव्यरुपमा मनाउने योजना बनाएका थिए। सपनाले सुनाइन्, 'त्यो वर्ष सबै साथिहरूसँग एनिभर्सरी भव्य मनाउने उहाँको योजना थियो।
दुई हप्ता पहिले नै नजिकका साथिहरूलाई आफैले फोन गरेर निम्तो दिनुभएको थियो। तर उहाँको त्यो योजना अधुरै रह्यो।' वर्षगाँठ आउन चार दिन मात्रै बाँकी रहँदा १५ गते नै स्वास्थ्यमा समस्या देखिएपछि जोशी अस्पताल भर्ना भए। अस्पतालबाट उनी कहिलै घर फर्किएनन्।
बाबाको कोट लगाएरै सुत्छिन् छोरी
सपना र नविन्द्रराजको सन्तानको रुपमा एकमात्र छोरी निऋति छिन्। निऋतिले १३ वर्षको हुँदा बाबा गुमाइन्। सपनाका अनुसार नविनन्द्रराजले छोरीलाई निकै माया गर्थ्ये। छोरी बिरामी हुँदा अस्पताल लिनेदेखि घुमाउन लिने काम उनी आफैले गर्थ्ये। छोरी जन्मिएपछि जति देशमा जोशी भ्रमणमा गए सबै देशमा छोरीलाई पनि साथमा लिए।
'१३ वर्षसम्म कहिलै छोरीको लागि नो भन्नु भएन। छोरीको माग पूरा गर्न उनी कैयौँ पटक मध्येरातमा उठेर बजार होटलमा पुगेर खाने कुरा ल्याउनु हुन्थ्यो' सपनाले भनिन्,'बाबु बितेपछि छोरीको हरेक कुरामा निकै असर पुगेको छ।'
बुबा बितेको धरै पछिसम्म निऋतिका बुबाको कोट लगाएर नै सुतिन्। उनी अहिले पनि बाबाको लुगा लगाएर बस्छिन्। बाबाको मोजादेखि टोपीसम्म हरेक लुगा उनले जतन गरेर राखेकी छिन्। निऋति अहिले पनि बिहान उठ्नेवित्तिकै बाबाको फोटो अगाडि गएर गुडमर्निङ बाबा भन्छिन्, राति सुत्नु अघि पनि गुडनाइट बाबा भनेर सुत्छिन्।
आफूलाई पढाइ वा केहीमा अफ्ठेरो पर्दा बाबाको फोटो अघि आएर समाधानका लागि प्राथना गर्छिन्। बाबाको याद आउँदा घरको बैठक कोठामा झुण्ड्याइएको बाबाको फोटो हेरेर तथा बाबाकै लुगा लगाएर उनी भुल्ने गर्छिन्। नविन्द्रराजले छोरीलाई ब्यापार गर्न हौस्याउने गर्दथ्ये।
बाबाले हौस्याएकै कारणले उनी सानैदेखि अनलाइन ब्यापार सुरु गरेकी छन्। कक्षा ८ मा पढ्ने उनी अहिले पनि अनलाइन मार्केटिङ गर्छिन्। पहिलो पटक ब्यापारबाट कमाइ भएको ११०० रुपैयाँ उनले बाबाको फोटोमा चढाएकी छिन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation