२१ वैशाख २०८१, शुक्रबार

कांग्रेसमा बहस : गठबन्धनको जिम्मा स्थानीय तहलाई दिनुपर्नेमा जोड

  • १३ चैत २०७८, आइतबार
Image

काठमाडौं - नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने बताएका छन्।

केन्द्रीय कार्यसमितिको बैठकअघि बसेको सात प्रदेशका सभापतिहरूको बैठकले यस्तो बताएका हुन्। बैठकले आफूहरूलाई पदेन सदस्यका रुपमा केन्द्रीय सदस्यको मान्यता दिन र प्रोटोकल टुंग्याउन पनि माग गरेको प्रदेश १ का सभापति उद्धव थापाले जानकारी दिए। 

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पनि आसन्न निर्वाचनमा गरिने चुनावी तालमेलको जिम्मा पालिकालाई नै दिनुपर्ने निष्कर्ष निकालेको छ।

पौडेल निवास बोहराटारमा शुक्रबार बिहान बसेको उक्त समूहको बैठकले स्थानीय तह निर्वाचनमा चुनावी तालमेलको निर्णय सम्बन्धित कार्यसमितिले नै गर्न पाउनुपर्ने निष्कर्ष निकालेको हो। बैठकले तालमेलको अधिकार केन्द्रले लाद्न नहुने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए।

भेलामा नेता पौडेलले आगामी निर्वाचनहरूमा चुनावी तालमेल आवश्यक रहेको बताए। भेलामा सहभागी जिल्ला सभापतिहरूले नेता पौडेलसँग पार्टीले गर्ने निर्णय र सरकारले गर्ने कामलगायतका विषयमा आफूहरूलाई काखापाखा गरिएको गुनासो गरे।

भेलामा पूर्वमहामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यसमेत रहेका कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्यद्वय सदस्य बलबहादुर केसी, दीपक गिरी पनि सहभागी थिए।

यस्तै पूर्व केन्द्रीय सदस्यद्वय दिलबहादुर घर्ती, हृदयराम थानी, सांसद मोहन पाण्डेय, बाजुरा सभापति रामसिंह रावल, तनहुँ सभापति जितप्रकाश आले, पाल्पा सभापति हिमाल श्रेष्ठ पनि भेलामा थिए।

भेलामा सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामा, धादिङका निवर्तमान सभापति रमेश धमला, कास्कीका निवर्तमान सभापति कृष्ण केसी, बागमती प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठलगायत नेता सहभागी थिए। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर