८ कार्तिक २०८३, शनिबार

विप्लवको चुनावमा जानुपर्ने प्रस्ताव अल्पमतमा

  • १३ चैत २०७८, आइतबार
Image

काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा चुनावमा जानु पर्ने महासचिव विप्लवको प्रस्ताव अल्पमतमा परेको छ।

चुनावमा जानु पर्ने विप्लवको प्रस्ताव अल्पमतमा परेसँगै चुनावमा नजानेहरूको स्पष्ट बहुमत पुगेको छ। एक सातादेखि कपिलवस्तुमा जारी केन्द्रीय कमिटी बैठकमा विप्लवले चुनावलाई उपयोग गर्ने भने पनि त्यसको मोडालिटीबारे खुला छलफल गर्ने प्रस्ताव गरेका थिए।

बैठकमा बिहीबारसम्म सबै केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखिसकेका छन्। महासचिव विप्लवले मात्रै बोल्न बाँकी रहको सो पार्टीले जनाएको छ। ६८ जना केन्द्रीय सदस्यमध्ये महासचिव, खड्कबहादुर विश्वकर्मा प्रकाण्डसहित २/४ जना अरु मात्रै निर्वाचनको पक्षमा देखिएका छन्।

केन्द्रीय कमिटी बैठक अझै १/२ दिन बस्ने बताइएको छ। विप्लवको प्रस्ताव असफल भएपछिको पार्टीको रणनीति के हुने भन्ने छलफलसमेत गर्न जरूरी रहेको एक केन्द्रीय सदस्यले बताए।

२०६९ सालमा तत्कालीन एकीकृत माओवादीसँग विभाजन गर्दा मोहन वैद्यलाई साथ दिएका विप्लवले त्यसपछि २०७१ मा वैद्यसँग विद्रोह गरेका थिए।

केही समय सशस्त्र क्रान्ति गर्ने भनेर भूमिगत भए पनि २०७७ फागुनमा केपी शर्मा ओली नेतृत्वको सरकारसँग वार्ता गरेर उनी शान्तिपूर्ण राजनीतिमा आएका हुन्।

न त शान्तिपूर्ण राजनीतिमा अगाडि बढ्न सकेको न त विद्रोहको योजना बनाउन सकेको भन्दै पार्टीभित्रै विप्लवको आलोचनासमेत हुने गरेको छ। स्रोतका अनुसार विप्लव माओवादीसँग एकता गर्न चाहन्छन भने प्रकाण्ड एमालेसँग एकता गर्न चाहन्छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर