काठमाडौं- विश्वका अधिकांश देशमा कोभिड संक्रमणदर सामान्य बन्दै गए पनि दक्षिण कोरिया, चीन, जर्मनीलगायतका केही देशमा भने पुनः संक्रमणदर उकालो लागेको छ। जोन हप्किन्स विश्वविद्यालयले गरेको पछिल्लो कोभिड अपडेटअनुसार केही दिनयता ती देशमा संक्रमण तीव्र बढ्न थालेको हो।
पछिल्लो दुई सातायता भियतनाम, जर्मनी, चीन, दक्षिण कोरिया र फ्रान्समा संक्रमणदर उकालो लागेको छ। शून्य कोभिड नीति अपनाउँदै आएको चीनमा समेत संक्रमण निरन्तर बढिरहेको छ। कोभिडको पहिलो लहरपछि दैनिक संक्रमण एक सयभन्दा कम रहेको चीनमा फेब्रुअरीको अन्तिम सातादेखि संक्रमण बढेको हो। हाल चीनमा दैनिक औसत संक्रमणको संख्या तीन हजारभन्दा बढी छ। चीनमा बुधबार दुई हजार नौ सय ५८ नयाँ संक्रमित थपिएका छन्। मंगलबार तीन हजार तीन सय ८७ र सोमबार तीन हजार एक सय संक्रमित थपिएका थिए। चीनमा २०२० मार्चदेखि हालसम्म लकडाउन कायम नै छ। कडाइका साथ लकडाउन लागू भइरहेको चीनमा यो साताको संक्रमणदर पछिल्लो एक वर्षदेखि सबैभन्दा बढी रहेको बताइएको छ।
भियतनाममा पनि फेब्रुअरी दोस्रो सातायता संक्रमणदर निरन्तर बढिरहेको छ। यो साता भियतनाममा औसत दैनिक संक्रमितको संख्या साढे दुई लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार भियतनाममा बुधबार मात्रै दुई लाख ६७ हजार पाँच सय ४० नयाँ संक्रमित थपिएका छन्। मंगलबार एक लाख ७५ हजार चार सय ८० र सोमबार दुई लाख नौ हजार पाँच सय चारजनामा संक्रमण देखिएको थियो। भियतनाममा संक्रमणदर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।
जर्मनीमा पनि संक्रमणदर घट्न सकेको छैन। जनवरीको अन्तिम सातादेखि नै दैनिक औसत संक्रमण डेढ लाखभन्दा बढी रहेको जर्मनीमा हाल संक्रमदर दुई लाख नाघेको छ। जर्मनीमा एक सातादेखि संक्रमण पुनः बढ्न थालेको हो। बुधबार जर्मनीमा दुई लाख ९४ हजार नौ सय २४ जनामा संक्रमण देखिएको छ। मंगलबार दुई लाख ६२ हजार दुई सय ८३ र सोमबार ७३ हजार तीन सय ४३ जनामा संक्रमण देखिएको थियो। फ्रान्समा समेत संक्रमणदर तीन दिनयता फेरि बढ्न थालेको छ।
दक्षिण कोरियामा पछिल्लो समय संक्रमण तीव्र बढेको स्वास्थ्य तथा कल्याण मन्त्रालयले जनाएको छ। दक्षिण कोरियामा २५ जनवरीसम्म दैनिक औसत पाँच हजारमा सीमित रहेको संक्रमण हाल ६ लाख २० हजार नाघेको छ। दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार बुधबार मात्रै ६ लाख २१ हजार तीन सय १७ नयाँ संक्रमित थपिएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation