बाँके- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजनालाई निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। उनले यो परियोजनालाई समयमै पुरा गर्न सकियो भने दातृ राष्ट र निकायको ध्यान नेपालतर्फ केन्द्रित हुने र विकासका धेरै परियोजना भित्रिन सक्ने बताए।
नेपाल प्रेस युनियन बाँकेले आइतबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री कार्कीले एमसीसीका बारेमा फैलाइएका अनावश्यक भ्रम र प्रचारलाई चिर्ने कार्य पत्रकारहरूले गर्नु पर्ने उल्लेख गरे। उनले विश्वका ४६ देशमा लागू भएको एमसीसी परियोजनाले ती देशमा धेरै आर्थिक परिवर्तन भैसकेको र कुनै पनि देशमा अमेरिकी सेना नगएको जनाउँदै नेपालमा सो बारेमा विभिन्न अनर्गल प्रचारहरू गरिएको बताए।
नेपालको जलविद्युत आयोजना र सडक विस्तारका लागि एमसीसी कोसेढुंगा साबित हुने जनाउँदै उनले अब सरकार कार्यान्वयनमा लाग्ने बताए। संविधान रक्षाका लागि विशेष परिस्थितिमा निर्माण गरिएको हालको सत्ता गठबन्धन तीनवटै तहको निर्वाचनसम्म जारी रहने जनाउँदै सरकारका प्रवक्ता मन्त्री कार्कीले निर्वाचनको लागि गठबन्धनका विषयमा छलफल अगाडि बढेको बताए। वर्तमान सरकारले राजनीतिक स्थिरतासंगै आर्थिक विकासलाई विशेष महत्व दिएर काम गरिरहेकोले त्यसका सकारात्मक परिमाण देखिन थालेको पनि बताएका छन् ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation