काठमाडौं- नेकपा माओवादी केन्द्रले महाधिवेशन गरेको दुई महिना बितिसक्दा पनि पदाधिकारी चयन गर्न सकेको छैन। पार्टी अहिले सत्तामा छ, वैचारिक र सांगठिनक क्षयीकरण सुरु भएको क्रान्ति सकिएपछि नै हो। मुलुक चुनावमा होमिएको समय छ। करिब १० वर्षसम्म मुलुक परिवर्तनका लागि १७ हजार नागरिकको बली चढाइयो, कयौं घाइते भए र उनीहरुको जनयुद्धमा लागेको भौतिक घाउको खाटा अझै बाँकी छ। मनमा लागेको घाउ भने कहिल्यै पूरा नहुने गरी गढेको छ।
यही पृष्ठभूमिमा रहेका गायक तथा संगीतकार प्रकाश सपुतले माओवादीको दशवर्षे 'जनयुद्ध' र माओवादी केन्द्रको क्रान्तिको त्यो बाटो र अहिलेको वैचारिक स्खलनको गम्भीर समीक्षा गरेका छन्। राजनीतिको कोर्स नै परिवर्तन गराएको दाबी गर्ने माओवादी 'जनयुद्ध' जनजीवनसँग जोडिएका महत्वपूर्ण मुद्दा उठाएर अघि बढेको थियो। तर, राजनीतिक परिवर्तनपछि त्यसको व्यवस्थापनमा भने मा लगातार चुकिरह्यो माओवादी र ओरालो लागिरह्यो वैचारिक यात्रा।
१६ मिनेट लामो सांगीतिक कथामा माओवादीको हिंसात्मक युद्ध र त्यसको परिणाम भोग्ने एउटा ठूलो वर्गलाई समेटिएको छ। जनयुद्ध सकिए पनि म्युजिक भिडियोका कमरेड बाबुले 'परिवर्तन मासु पसल' सञ्चालन गरेका छन्। उनी मासु बेचेर लेनिनको पुस्तक 'राज्य र क्रान्ति' किनेर अध्ययन गरिरहेका हुन्छन्।
'पीर' शीर्षक दिइएको उक्त गीतमा द्वन्द्वको पीडालाई सविस्तार गरिएको छ। जनयुद्धमै जनवादी विवाह गरेका बाबु र उर्जाको दैनिक जनयुद्धपछि निकै कष्टकर रहको छ। बाबुको र उनको पत्नी ऊर्जाको दैनिकीबाट सुरु भएको 'पीर', डेराको जिन्दगीलगायतका विषयलाई चित्रण गरिएको छ। 'कमरेड' दम्पतीले तीन महिनादेखि भाडा दिन सकेका छैनन्। सहरमा टिक्नेगरी आम्दानी गर्न नसकेका बाबुको सोच परिवर्तनशील छ। पेशा फेरिरहन्छन् उनी।
ऊर्जा चाहन्छिन् बाबु विदेश जाओस्। अरुलेजस्तै गरी कमाओस्। उर्जाको आग्रहलाई देशको मायाले थिच्छ र भन्छन्- 'म विदेशमा जान्नँ। भोकै मर्नुपरे पनि यही देशमा मर्छु।' क्रान्तिका लागि जति बाबुकोभन्दा कम थिएन उर्जाको योगदान। उनी जवाफ दिन्छन्- 'हामीलाई छैन देशको माया?'
ज्यानको बाजी लगाएर जसको जीवन जोगाए, उनीहरु सिंहदरबार पुगेका छन्। तर, जसले छातीमा गोली थापे, उनीहरु भने अहिले डेराको भाडा तिर्न नसक्ने अवस्थामा पुगेका छन्। युद्धमा लागेको गोलीको खाटा उर्जाको छातीमै अझै छ। खुट्टामा लागेको गोलीले लड्खडाएको खुट्टाजस्तै बनेको छ, बाबुको जीवन। त्यत्रो जनयुद्धले के पायौं त? भन्ने उर्जाको प्रश्नमा बाबुसँग बनिबनाउ उत्तर छ- गणतन्त्र। अनि विदेशिन नचाहने बावुको ढिपीलाई उछिन्दै आफैँ विदेशित तम्सिन्छिन् ऊर्जा।
तिम्रो मयाले मलाई पिर दियो
कमलो मुटु, कमलो छाती, ओइ चिर दियो, चिर दियो...
पासपोर्ट बनाउँदाका सकसदेखि काखे छोरीलाई छाडेर विमानस्थलबाट उड्नुको पीडा पोखिएको छ पीरमा। विमानस्थलमा विदेशिँदाको आँशु बयान गरी साध्य छैन। यता झोलामा कम्युनिस्ट किताब छुटाउँदैनन् बावु।
श्रीमती रोजगारीमा हिँडेको तीन महिनासम्म अत्तोपत्तो नहुनुले बाबु बहकिन्छन्। भट्टीबाट यौनकर्मीको दैलोसम्म पुग्छन् उनी। त्यहाँ उनले जे देख्छन् - त्यसले सबैलाई तरंगित बनाइदिन्छ। सँगै जनयुद्धमा होमिएकी कमरेडले हातमुख जोर्न 'यौनकर्म' अँगालेको छ।
लामो समयदेखि सम्पर्कविहीन ऊर्जाले सामाजिक सञ्जाल र टेलिभिजनको पर्दामा देखिन्छिन् - विदेशमा बन्धक परेको अवस्थामा। त्यसपछि उनको उद्धारका लागि पहल गर्दा बावुले भोगेको पीडा र अपमान निकै भयानक छ। त्यसलाई गीतका शब्दमा ब्याख्या गरिएको छ-
आफ्नै विचार वैरी भयो, कहाँ जाम् कता भागम्
ज्यानकै बाजी थापेको थेँ, कल्लाई हिसाब मागम्
माओवादी जनयुद्धमा सक्रिय लडाकु बेघरबार भएको छ, विदेशीन र वेश्या बन्न बाध्य भएका छन्। तर, जनयुद्धका कमाण्डर भने सिंहदरबार अगाडि-पछाडि सुरक्षाकर्मीसहित कालो सिसाको गाडीमा धुलो उडाउँदै भित्र-बाहिर गरिरहन्छ। उससँग जनयुद्धका सारथीहरु छैनन्, तस्कर र दलालहरुको उठबस् छ। आफ्नो श्रीमतीको उद्धारका लागि कतैबाट पहल गर्दा पनि कसैले सुनुवाई नगरेपछि निराश बाबु पनि विदेशिने निर्णयमा पुगेका छन्।
देशको माटो पोकोपारी विदेशिन बाध्य भएका बाबुलाई छोरी सोध्छन्- के हो देश भनेको? जवाफ छैन बाबुसँग। अनि भन्छन्-
देश भन्नु त के रहेछ र, चार किल्लाको माटो
त्यही माटो नि उनको मात्र, जो छन् टाठोबाठो।
प्रकाश सपुतको 'पीर'मा नेकपा माओवादीको जनयुद्धको एउटा संवेदनशील पाटोलाई उदांगो पारिएको छ। उक्त गीतले माओवादीको अहिलेको दृश्यलाई प्रस्तुत गरेकोमा माओवादीकै नेताहरुले सपुतमाथि आक्रमण र विरोध गरिरहेका छन्। तर, माओवादी विद्रोहका एक अगुवा एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रकाश सपूतको नयाँ गीत ‘पीर’ बारे आपत्ति मान्नुपर्ने कुनै कुरा नरहेको स्पष्ट पारेका छन्।
गीतले जनयुद्धको मर्ममाथि प्रहार गरेको भन्दै माओवादी विद्यार्थी भ्रातृसंगठन क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले त युट्युबबाटै हटाउन चेतावनी दिएकी थिइन्।
बाबुरामले ट्विटरमा लेखेका छन्, ‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपूतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु– त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन। गीतले जनयुद्धको विरोध गरेको छैन।’
गीतमा अपूर्ण क्रान्तिका पीडा दर्शाएको भनाइ भट्टराईको छ। उनले लेखेका छन्, ‘त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो। गीतका सर्जकलाई किन धम्काउने?’
© Lok Kalam . Designed and Developed by Goldenmud Creation