काठमाडौं- माओवादी केन्द्रको महाधिवेशन सकिएको दुई महिना बितिसक्दा पनि पदाधिकारी टुंगो लगाउनुपर्ने पार्टीभित्रैबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दबाबमा छन्।
राष्ट्रिय सभा गृहमा शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक दोस्रो दिन आइतबार बत्तिसपुलतीस्थित अनुपम फुडल्यान्डमा बसेको थियो। सोमबार तेस्रो दिन पनि बैठक त्यही ठाउँमा बिहान ११ बजे बस्ने पार्टीका पूर्वस्थायी कमिटीका सदस्यसमेत रहेका केन्द्रीय सदस्य गणेश साहले जानकारी दिए।
उनका अनुसार आजको बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी गरेको छ। ‘आज केन्द्रीय कमिटीले पूर्णता पाउँछ’, केन्द्रीय सदस्य साहले सोमबार बिहान भने, ‘पदाधिकारी चयन र एमसीसीलगायत विषयमा छलफल अब चुनावपछि मात्रै होला।’
माओवादी केन्द्रका अर्का नेता शक्ति बस्नेतका अनुसार आज बस्ने केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य थप गर्ने र नेताहरूको कार्यविभाजनबारे पनि छलफल हुनेछ। ‘केन्द्रीय सदस्यमा ६३ जना थप गर्नुपर्नेछ। त्यो संख्या तयार पारेर सोमबार पेस हुनेछ,’ बस्नेतले नेपालखबरसँग भने, ‘समानुपातिक, समावेशी, महिला, दलित, युवा, मधेस लगायतबाट छनोट गरिनेछ।’
गत पुस १८ गते भएको आठौं महाधिवेशनले माओवादी केन्द्रको २४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो। भोलिपल्ट १९ गतेको केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष चयन गरेको थियो। तर अन्य पदाधिकारी अहिलेसम्म चयन गर्न सकेको छैन।
आजको बैठकबाट केन्द्रीय समितिलाई पनि पूर्णता दिने तयारी माओवादी केन्द्रले गरेको हो। २९९ सदस्यीय केन्द्रीय समितिमा महाधिवेशनले २४७ जना मात्र चयन गरेको छ। अब २९९ को १० प्रतिशत हेडक्वार्टरले मनोनयन गर्ने व्यवस्था छ। त्यस्तै २९९ को १५ प्रतिशत केन्द्रीय समितिले मनोनयन गर्नेछ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation