काठमाडौं- निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचन मंसिर पहिलो साता गर्ने गरी तयारी थालेको छ। आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार सरकारको परामर्शमा मंसिर पहिलो साता निर्वाचन गर्ने गरी तयारी थालेका छौं।
निर्वाचन आयोगले बुधबारबाट पुनः मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुरु गर्ने भएको छ। ‘सबै निर्वाचन कार्यालयहरू र सवै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट यही असार १ गते देखि मतदाता नामावली सङ्कलन गरिनेछ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने।
पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोवास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्ने उनले बताए।
मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्म मिति, लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा नाम दर्ता अधिकारी (निर्वाचन अधिकारी) ले आवश्यक निर्णय गरी त्रुटि सच्याउने समेत उनले जनाए।
प्रवक्ता पौडेलका अनुसार कुनै मतदाताले विवाह वा बसाई सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्नेछ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation