काठमाडौं - सेना दिवस एवं महाशिवरात्रिको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गेरर सेना दिवस मनाएको छ । कार्यक्रममा नेपाली सेनाले परेड र सैनिक कलासंस्कृति प्रश्तुत गरेको हो ।
हरेक वर्ष महाशिवरात्रिका दिन नेपाली सेनाले सेना दिवस मनाउने गर्छ । सेनाले विभिन्न सांस्कृतिक कार्यक्रम र साहसिक खेलहरु प्रस्तुत गरेको थियो । शिवरात्री एवं सेना दिवसको बढाइँ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा लगायतका उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सेनाका परमाधिपति राष्ट्रपति भण्डारीले सैनिक स्मारकमा पुष्पगुच्छा अर्पण गरेकी थिइन् । उनलाई सेनाको एक टुकुडीले सलामी अर्पण गरेको थियो । सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा देशभर सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सव–युनिटले पनि आ–आफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस भव्यताका साथ मनाइएको छ।
सेना दिवसको अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो । वि.स. २०४७ सालबाट नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ । कार्यक्रममा नेपाली सेनाले राइफल र तोपबाट महाशिवरात्रिको बढाईं समेत गरेको छ।