काठमाडौं- नेपाल वायुसेवा सञ्चालक संघले आफूहरूका माग सम्बोधन नभए बुधबारदेखि आन्तरिकतर्फका सबै उडान रोक्ने चेतावनी दिएको छ। मंगलबार पत्रकार सम्मेलन गरी पाँचबुँदे माग प्रस्तुत गर्दै संघले उडान रोक्ने चेतावनी दिएको हो।
सरकारले आन्तरिक उडानलाई मध्यनजर गर्दै यसअघि ल्याएका केही प्रावधानमा संघले आपत्ति जनाएको छ। हेलिकोप्टरमा दुई पाइलट हुनुपर्ने नियम खारेज गर्नुपर्ने, यात्रु सेवा शुल्क, ल्यान्डिङ, पार्किङ, नेभिगेसनलगायतको शुल्क वृद्धि फिर्ता लिनुपर्ने, हेलिप्याड निर्माण गर्नुपर्ने, जहाज मर्मतसम्भारका लागि ह्यांगरलगायतका भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने,जहाज पार्किङ सहज बनाउनुपर्नेलगायत माग संघले राखेको छ।
संघले आफ्ना माग पूरा नभए बुधबारदेखि नै आन्तरिक उडान रोक्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई जानकारी गराएको छ। यता नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाइ सेवा बन्द गर्न नमिल्ने स्पष्ट पारेको छ।
वायुसेवा सञ्चालक संघ नेपालले पत्रकार सम्मेलन गर्दै भोलिदेखि आकस्मिकसहित हेलिकप्टर र विमान कम्पनीका नियमित उडान बन्द गर्ने बताएको केही बेरमै प्राधिकरणले पत्रकार सम्मेलन गरी उडान रोक्न नपाउने बताएको हो। प्राधिकरणले जनताले दुःख पाउने अवस्था आए प्राधिकरणले हेरेर नबस्ने भन्दै कारबाही गर्ने संकेत गरेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation